राजनीति


विचाराधीन विधेयक टुंग्याउन विपक्षी दलसँग छलफल गर्ने सत्तापक्षीय कार्यदलको निर्णय

विचाराधीन विधेयक टुंग्याउन विपक्षी दलसँग छलफल गर्ने सत्तापक्षीय कार्यदलको निर्णय

नेपालखबर
पुस ११, २०८१ बिहिबार १८:१५, काठमाडौँ

सत्तारुढ गठबन्धनको संयुक्त कार्यदलले संसद्मा विचाराधीन विधेयकहरू समय सीमाभित्रै पास गर्ने विषयमा विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

बिहीबार सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित कार्यदलले संघीय संसदमा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै समिति संयोजक जीवन परियारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका समितिहरूमा रहेका विधेयकहरू पारित गर्न आवश्यक छलफलका लागि संघीय संसदमा रहेका दलका प्रमुख सचेतकहरूसँग परामर्श गर्ने निर्णय गरिएको बताए। उनले अन्य दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने अधिकार नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालाई जिम्मेवारी दिइएको जानकारी पनि दिए।

उनले आगामी १७ गतेभित्र संघीय संसदका विभिन्न समितिमा रहेका विधेयकहरूबारे दलगत समितिका सदस्यहरूसँग आवश्यक छलफल गर्ने निर्णय पनि गरेको बताए।

उनले भने, ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका समितिहरूमा रहेका विचाराधीन विधेयकहरूका सन्दर्भमा आगामी संसदको बैठकमा सबै विधेयकहरू पारित गर्नका निम्ति समितिहरूबाट विधेयकहरू पास भएको हुनुपर्छ। विधेयकहरू पारितका निम्ति  आवश्यक छलफलका लागि अन्य दलका प्रमुख सचेतकहरूसँग आवश्यक परामर्श गर्न कांग्रेसका सचेतक श्यामकुमार घिमिरे र एमालेका महेश बर्तौलालाई अधिकार दिने निर्णय गरेका छौँ। प्रतिनिधि सभाका पाँच समितिमा विधेयकहरू छलफलमा छन्। समितिमा विधेयक कस्तो अवस्थामा छ, आगामी संसदमा उक्त विधेयकहरू पारित गर्न केके गर्नुपर्छ भन्ने विषयमा आगामी १७ गतेभित्र दलगत समितिका सदस्यहरूसँग आवश्यक छलफल गर्ने निर्णय गरेका छौँ। १६ महिनादेखि कतिपय विधेयकहरू समितिमा छलफलमा नै छन्। लामो समयसम्म विधेयकहरू प्रतिनिधि र राष्ट्रिय सभामा रहनु राम्रो कुरा होइन। दुई दलीय संयन्त्रले दिएको निर्देशनअनुसार समितिमा विधेयकहरू समयसीमाभित्रै पारित गरिनुपर्‍यो।’

उनले दुई दलLय संयन्त्रले दिएको निर्देशनअनुसार समितिमा रहेका विधेयकहरू समय सीमाभित्रै पारित गर्ने गरी दुवै सदनको नियमावली र कार्यविधिमा संशोधन गर्नेबारे पनि अन्य दलका प्रमुख सचेतकहरूसँग पनि छलफल गर्ने निर्णय भएको बताए।

कार्यदलको बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, सचेतक सुनिता बराल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमाले सांसद योगेश भट्टराई, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सहभागी थिए। 

कार्यदलको अर्को बैठक आगामी पुस १८ गते बस्ने भएको छ।

मंगलबार बालुवाटारमा बसेको कांग्रेस-एमालेको संयुक्त संयन्त्रको बैठकले कार्यदल बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad