नेकपा एमालेका पूर्वउपाध्यक्ष डा भीम रावल, स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई कारबाही गर्ने प्रस्तावमा केही नेताहरूले बैठकमै विरोध जनाएका छन्।
बुधबार बसेको सचिवालय बैठकमा रावललाई संगठित सदस्यसमेत नरहने गरी निकाला गर्ने, पाण्डे र तिम्सेनालाई ६ महिनासम्म पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने प्रस्ताव पेस भएको थियो।
तर, नेताहरूले त्यसो गर्न नहुने भन्दै सो प्रस्तावमा असहमति जनाएका थिए।
‘तीन नेतालाई कारबाही गर्ने विषयमा एमालेमा केही नेताहरूले फरक धारणा राख्नुभयो, केहीले भने गर्नुपर्छ भन्नुभयो। सबैले बोल्दा फरकफरक धारणा आए,’ बैठकमा सहभागी एक पदाधिकारीले नेपालखबरसँग भने।
यद्यपि, उनीहरूको असन्तुष्टिका बाबजुद ओलीले पेलेरै बैठकबाट निर्णय गराएका छन्।
एमालेले भीम रावलसहित ३ नेताको जिम्मेवारी खोस्यो
पाण्डे र तिम्सेनाले व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै सामाजिक सञ्जालमा टिप्पणी लेखेका थिए। यस्तै, रावलले सार्वजनिक अभिव्यक्तिसहित केही मिडियामा अन्तर्वार्ता दिएका थिए।
कात्तिक ४ गते बसेको एमाले सचिवालय बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्काशन गरेको छ। यस्तै, पाण्डे र रावललाई ६ महिना निलम्बन गरेको छ। बैठकका निर्णयबारे पत्रकारलाई जानकारी गराउने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले भने फरक धारणाबारे केही बताएनन्।
बैठकका निर्णयबारे जानकारी दिँदै प्रदीप ज्ञवाली:
Shares

प्रतिक्रिया