राजनीति


हामी बाहिरै भए पनि ०८४ मा पार्टी ठूलो भएको हेर्न पाऊँ : विन्दा पाण्डे

हामी बाहिरै भए पनि ०८४ मा पार्टी ठूलो भएको हेर्न पाऊँ : विन्दा पाण्डे

सागर न्यौपाने
पुस १०, २०८१ बुधबार २०:१९, काठमाडौँ

नेकपा एमालेबाट जिम्मेवारीमुक्त भएकी स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेले सचिवालय बैठकले गरेको निर्णयले दीर्घकालीन असर पर्ने बताएकी छन्।

बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारीविहीन गर्ने निर्णय गरेपछि प्रतिक्रिया दिँदै उनले जबजको बाटोमा हिँड्नुपर्ने पार्टी उल्टै विवादास्पद व्यक्तिलाई च्यापेर हिँड्दा त्यसको दूरगामी असर पर्ने बताएकी हुन्। 

०८४ मा एमालेले ठूलो शक्ति बन्ने लक्ष्य राखेकोमा यस्ता व्यवहारले असर पर्ने उनले बताइन्।

‘सचिवालयलाई मजस्ता मान्छेलाई पार्टीबाट अलग गर्दा हाम्रो पार्टी गजब हिसाले अगाडि बढ्छ, अनुशासित भएर अगाडि बढ्छ, नैतिक भएर अगाडि बढ्छ भन्ने लागेको छ भने ठीकै छ त। पार्टी राम्रो होस् अझै बृहत होस्,’ पाण्डेले नेपालखबरसँग भनिन, ‘अहिले ०८४ सम्म जसरी हामीले राष्ट्रिय शक्ति निर्माण गरेर जाने भनेका छौँ। यसले अझै बृहत् राष्ट्रिय शक्तिको हिसाबले निर्माण होस्। हामी बाहिरै भए पनि ठूलो भएको पार्टी हेर्न पाऊँ शुभकामना छ।’

व्यवसायी मीनबहादुर गुरुङले दिएको कीर्तिपुरको जग्गामा एमाले पार्टी कार्यालय बनाउन शिलान्यास गरिएपछि पाण्डेले पाँच लाख कार्यकर्ताको अपमान हुने भन्दै निर्णय फिर्ता लिन सुझाव दिएकी थिइन्। त्यसपछि एमालेले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

डा पाण्डेले दिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै बुधबार बसेको सचिवालय बैठकले ६ महिनासम्म जिम्मेवारीविहीन बनाउने निर्णय लिएको छ।

‘पार्टीको नीति र विधि, लोकतान्त्रिक प्रतिस्पर्धा गर्ने जबजबाट निर्देशित पार्टी जनताको बीचमै आफूलाई स्थापित गर्दै जानुपर्ने हो। तर, सत्ताको नेतृत्व गरिराखेको, सुशासनको कुरा गरिराखेको पार्टीले विवादित व्यक्तिसँग मिल्नु ठीक भएन भनेर भनिएको कुरालाई लिएर पार्टीले यसरी समीक्षा गर्नुभन्दा उल्टै कारबाही गरेर पार्टीलाई राम्रो हुन्छ भन्ने नेतृत्वलाई लागेको छ भने यसले पार्टीलाई दीर्घकालीन हिसाबले राम्रो असर पर्दैन। यसको रिजल्ट दीर्घकालीन हिसाबमै कुर्नुपर्छ,’ उनले थपिन्, ‘हामीलाई कारबाही गरेर बहुदलीय जनवादमा पुगिन्छ भन्ने नेतृत्व (केपी शर्मा ओली)लाई लागेको छ भने त्यो भविष्यले देखाउला नि त।’

कात्तिक ४ गते उनीसहित पूर्वउपाध्यक्ष भीम रावल र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनासँग पनि एमालेले स्पष्टीकरण सोधेको थियो। बुधबार तीनै नेता कारबाही भोग्नेमा परेका छन्।

‘पार्टीको खास नेतृत्वलाई यही (कारबाही) गर्दा पार्टी बलियो हुन्छ भन्ने लागेको भएरै यो निर्णय गरिएको होला,’ डा पाण्डेले थपिन्, ‘ हामी, केही साथी पार्टीबाहिर बस्ने, भीम रावलजस्तो मान्छे पार्टीबाट बाहिरै बस्दा पार्टी दरिलो हुन्छ, पार्टी बलियो हुन्छ भन्ने सचिवालयको निर्णय हो भने, हेरौँ न त! पार्टी बलियो हुन्छ भने हामीलाई निकालेर केही फरक पर्दैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad