आईसीसी च्याम्पियन ट्रफी २०२५ आगामी फेब्रुअरी १९ बाट सुरु हुने भएको छ। १९ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १५ खेल हुनेछन्।
च्याम्पियन्स ट्रफी २०२५ का भारत सम्मिलित सबै खेल दुबईमा र बाँकी खेलहरू पाकिस्तानका विभिन्न सहरमा हुनेछन्। च्याम्पियन्स ट्रफीको आयोजना गर्ने जिम्मा पाकिस्तानले पाएको भए पनि भारतले पाकिस्तान नजाने अडान लिएपछि भारतले खेल्ने सबै खेल दुबईमा तय गरिएको हो।
भारत अघिल्लो चरणमा प्रवेश गरे उसको सेमिफाइनल र फाइनल खेल पनि दुबईमै हुनेछ। तर भारत सेमिफाइनलमा पुग्न सकेन भने सबै खेल पाकिस्तानमै हुनेछन्।
आईसीसीले मंगलबार आधिकारिक तालिका सार्वजनिक गर्दै सेमिफाइनल १ मा भारत छनोट भएमा भारतलाई समावेश गर्दै दुबईमा खेलाइने प्रस्ट पारेको हो।
त्यसैगरी सेमिफाइनल २ पाकिस्तानमा हुनेछ। पाकिस्तानको लाहोरलाई फाइनलको लागि तय गरिएको छ। तर भारत फाइनलको लागि छनोट भयो भने यो खेल पनि दुबईमा हुनेछ।
सेमिफाइनल र फाइनल दुवैमा रिजर्भ दिन हुने आईसीसीको विज्ञप्तिमा उल्लेख छ।
आठ टोलीको च्याम्पियन्स ट्रफीमा भारतका खेलहरू पाकिस्तानबाहिर गर्ने निर्णय पाकिस्तान क्रिकेट बोर्डकै सहमतिमा गरिएको हो। भारतसँग फेब्रुअरी २३ मा हुने समूह चरणको खेलका लागि आयोजक राष्ट्र पाकिस्तान दुबई जानेछ।
यो समूहमा बंगलादेश र न्युजिल्यान्ड पनि छन्। भारतले फेब्रुअरी २० मा बंगलादेशसँग र मार्च २ मा न्युजिल्यान्डसँग दुबईमै खेल्नेछ।
प्रतियोगिताको साबिक बिजेता पाकिस्तानले फेब्रुअरी १९ मा न्युजिल्यान्डविरुद्ध कराँचीमा खेल सुरु गर्नेछ। पाकिस्तानको अन्तिम लिग खेल बंगलादेशसँग, फेब्रुअरी २७ मा रावलपिन्डीमा हुनेछ।
अर्को समूहमा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन्। यो समूहका सबै र अर्को समूहका भारतबाहेकका खेलहरू लाहोर, कराँची र रावलपिन्डीमा खेलाइनेछ।
यससँगै अब भारत र पाकिस्तानबीचका सबै क्रिकेट खेल तेस्रो देशमा हुने छन्। सेमिफाइनल र फाइनल जस्ता नकआउट खेलहरू पनि तटस्थ स्थानहरूमा आयोजना गर्ने सहमति सम्बद्ध पक्षबीच भएको छ।
यो सम्झौता यही च्याम्पियन्स ट्रफीबाट लागू हुनेछ।
यो २०२५ मा भारतमा हुने महिला एकदिवसीय विश्वकप र २०२६ को पुरुष टी २० विश्वकपमा पनि लागू हुनेछ। २०२६ को विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने छन्। यो मापदण्ड २०२८ मा हुने महिला टी २० विश्वकपमा पनि लागू हुनेछ।
Shares

प्रतिक्रिया