राजनीति


पृथ्वी जयन्ती मनाउनेसहित राप्रपाले गर्‍यो यी १० निर्णय

स्थानीय तहको उपनिर्वाचनमा अधिकांश स्थानमा मत सुधार भएको दाबी
पृथ्वी जयन्ती मनाउनेसहित राप्रपाले गर्‍यो यी १० निर्णय

फाइल तस्बिर: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन


नेपालखबर
पुस ७, २०८१ आइतबार ७:३७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकले यस वर्ष पनि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस उत्सवका रूपमा मनाउने निर्णय गरेको छ। 

शुक्रबार र शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले पृथ्वी जयन्ती मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गर्दै कार्यक्रम व्यवस्थित बनाउन विभिन्न उपसमिति पनि गठन गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार बैठकले सबै जिल्लामा पृथ्वी जयन्ती विविध कार्यक्रम गरी भव्य रूपमा मनाउन जिल्ला कार्य समितिहरूलाई निर्देशन पनि दिएको छ। 

योसहित बैठकले १० विषयमा निर्णय गरेको जानकारी प्रवक्ता श्रेष्ठले दिए। 

जुन यसप्रकार छ:

१. यस वर्ष पनि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस उत्सवका रूपमा मनाउने, पृथ्वी जयन्ती भव्य बनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन। पृथ्वी जयन्तीलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन। सबै जिल्लामा पृथ्वी जयन्ती विविध कार्यक्रम गरी भव्य रूपमा मनाउन जिल्ला कार्य समितिहरूलाई निर्देशन। 

२. राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक ०८१ माघ ११ र १२ गते काठमाडौँमा बस्ने निर्णय।

३. पार्टीको नीति, विचार, सिद्धान्त, मूल्य/मान्यता, आदर्श र निर्णय जनसमक्ष पुर्‍याउन, व्यवस्थित र मर्यादित सामाजिक सञ्जाल सञ्चालन र प्रसारित सामाग्रीमा एकरुपता कायम गर्न, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्न, सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र आम जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तार गर्दै पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन पार्टी सदस्यहरूका लागि केन्द्रीय प्रचार विभागद्वारा प्रस्तुत “सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि-०८१" लाई अनुमोदन गरिएको छ।

४. हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको राप्रपाले गम्भीरतापूर्वक समीक्षा गरेको छ। निर्वाचनको परिणाम राप्रपाको पक्षमा हुन नसके पनि अधिकांश स्थानमा मतमा सुधार भएको छ, यद्यपि परिणाम विजयका लागि पर्याप्त हुन सकेन। प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणका अवसरका रूपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्तदुरुस्त र चलायमान बनाउने निर्णय 

५. स्थानीय तहको उपनिर्वाचनमा भएको तहगत कमजोरी र त्यसले परिणाममा पारेको प्रभावबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न संगठन विभागका प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा बागमती प्रदेश कार्यसमितिका अध्यक्ष विक्रमबहादुर थापा र लुम्बिनी प्रदेश कार्यसमितिका अध्यक्ष प्रदीपकुमार उदय सदस्य रहेको समिति गठन 

६. राप्रपाको सुधार गर्नुपर्ने, निरन्तरता दिनुपर्ने र अवलम्बन गर्नुपर्ने नीतिगत, संरचनागत र समग्र पक्षबारे बौद्धिक वर्ग, विभिन्न पेसा/व्यवसायमा संलग्न व्यक्ति र आम जनसमुदायसँग घनीभूत छलफल र संवाद गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न विज्ञहरूको समूह बनाउने निर्णय गरिएको छ। पार्टीको नीति, अनुसन्धान विभागले यसको संयोजन गर्नेछ।

७. पार्टीको भ्रातृ संगठनलाई व्यवस्थित, प्रभावकारी र परिणाम केन्द्रित बनाउन संयोजित संगठन विभागको कार्यविधि - २०८१ पारित

८. कञ्चनपुर र जुम्ला जिल्लामा पार्टी अनुशासनविपरीतका गतिविधिसम्बन्धी परेको उजुरीको टुंगो लगाउन केन्द्रीय अनुशासन समितिमा पठाउने र सो विषयको यथाशक्य चाँडो निरुपण गरिने निर्णय 

९. अस्वस्थ भई काठमाडौँमा उपचाररत वरिष्ठ नेता दीपक बोहरा र भारतको नयाँ दिल्लीमा उपचाररत महामन्त्री डा. धवल शमशेर राणाको बैठकले शीघ्र स्वास्थ्य लाभको कामना

१०. केन्द्रीय कार्यसम्पादन समितिको यस बैठकका बाँकी एजेन्डामा छलफल गर्न अर्को बैठक पुस ९ गते मंगलबार बस्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad