नेपाल सरकार मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसेको छ।
साँझ ५ बजे बोलाइएको बैठक २ घण्टा ढिलो गरी प्रधानमन्त्रीको निवास, बालुवाटारमा बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केर आएपछि बसेको मन्त्रिपरिषद्को यो पहिलो बैठक हो।
चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएपछि सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताले संशय व्यक्त गरेका छन्। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन बैठकले पनि उक्त सम्झौतालाई खुलेर स्वागत गर्न सकेन।
कांग्रेसभित्रैबाट प्रश्न उठाइएपछि परराष्ट्र मन्त्रालयले मंगलबार बेइजिङमा हस्ताक्षर गरिएको बीआरआईसम्बन्धी सम्झौतापत्र नै सार्वजनिक गरिदिएको छ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा गएर २० गते फर्किएका थिए। परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवा पनि भ्रमण टोलीमा थिइन्।
चीनबाट फर्किएको पर्सिपल्टै परराष्ट्रमन्त्री राणा लामो समयका लागि युरोप भ्रमणमा निस्किएकी छन्।
Shares

प्रतिक्रिया