नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा फैलिन नदिन सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना गरेका छन्।
सोमबार ९ बुँदे ध्यानाकर्षण जारी गर्दै देउवाले जोखिम सामना गर्न सरकारलाई आफ्नो सम्पूर्ण साथ रहने दोहोर्याएका छन्।
यस्ता छन्, देउवाद्वारा जारी ध्यानाकर्षणका ९ बुँदा
१) सिमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनैपनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्दछु।
२) सम्भावित जोखिम सामनाका लागी दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणहरु देखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औंल्याउन चाहन्छु।
३) अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेकोे ध्यानाकर्षण गराउन चाहन्छु।
४) अत्यावश्यक खाद्यान्नको थप मुल्य वृद्धिसँगै कालोबजारी फस्टाएको छ। बजारमा सरकारका सम्बन्धित निकायहरूको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन चाहन्छु।
५) सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको छ।
६) पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य ब्यवसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेका छन्। समग्र निजि क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता औल्याउँदछु।
७) सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा बिशेष गरि गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था बन्ने देखिन्छ। तिनका लागि राहतको योजना ल्याउन सरकार समक्ष माग गर्दछु।
८) विद्यार्थीहरुको शैक्षिक भविष्यलाई असर नपर्ने गरि जोखिमबाट विद्यार्थीहरुलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदछु।
९) स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी–दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपिल गर्दछु।
Shares

प्रतिक्रिया