ad ad

राजनीति


स्नातकोत्तर गरेको ३८ वर्षपछि डाक्टर बने भीम रावल

स्नातकोत्तर गरेको ३८ वर्षपछि डाक्टर बने भीम रावल

नेपालखबर
चैत ३, २०७६ सोमबार ८:४४,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समितिमा सदस्य तथा सांसद भीम रावलले विद्यावारिधि प्राप्त गरेका छन्। त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र विभागबाट उनले ‘नेपालमा माओवादी विद्रोह र राजनीतिक हिंसा’ विषयमा विद्यावारिधि गरेका हुन्।

‘आज अन्तिम भाइवा थियो। मेरो थेसिसलाई मूल्यांकन समितिले स्वीकृत गरेको छ’, डा. रावलले नेपालखबरसँग भने, ‘यो शोधपत्र तयार गर्नका लागि ६ वर्ष लाग्यो।’ राजनीतिशास्त्रमा स्नातकोत्तर गरेको ३८ वर्षपछि रावलले विद्यावारिधि पूरा गरेका हुन्। उनी कानुनमा स्नातक हुन्।

‘मैले २०३८ सालमा पढाइसकेको थिएँ। त्यसपछि थेसिस लेख्न थप एक वर्ष लाग्यो। मेरो ब्याचमा म पहिलो भएको थिएँ’, उनले भने, ‘राजनीतिमा सक्रिय भएकाले थप पढाइलाई निरन्तरता दिन सकिन। कहिले आन्दोलन कहिले जेल यस्तै यस्तै यस्तै भयो।’

रावलले थेसिसमा नेपालका राजनीतिक परिवर्तनमा हिंसाको प्रयोग, माओवादी द्वन्द्वको चरण, यसको आन्तरिक र बाह्य पक्ष, शान्ति प्रक्रियाका लागि भएको प्रयासको विषयमा समेटिएको बताए।

‘शान्ति प्रक्रियाको धेरै विषयमा आफैँ पनि संलग्न थिएँ। त्यसैले यस विषयमा विद्यावारिधि गरेको हुँ’, डा. रावलले भने। रावलको सुपरभाइजरमा राजनीतिशास्त्रकी प्राध्यापक मिना वैद्य मल्ल र प्राध्यापक राजकुमार पोखरेल थिए।

वि.सं. २०३१ मा भारतले सिक्किमलाई विलय गराएको विरोधबाट रावल राजनीतिमा आएका हुन्। २०३२ सालमा तत्कालीन कोअर्डिनेसन केन्द्रका सम्पर्कमा आएका उनी विद्यार्थी राजनीतिमा सक्रिय रहे।

वि.सं. २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारमा पर्यटन राज्यमन्त्री बनेका रावलले गृह, रक्षाजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। रावलले अहिले सुदूर पश्चिममा नेकपाको इन्चार्ज रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .