सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानुनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।
मंगलबार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
उनले संसद कानुन बनाउने थलो भएपनि वर्तमान संसदले कानून बनाउन नसकेको स्वीकार गरे। उनले संसदमा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता, अध्ययन, बुझाईबाट ल्याउने र त्यही आधारमा संसदमा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे।
सभामुख घिमिरेले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरूको सहभागिता बनाउने प्रबन्ध गर्न आवश्यक रहेको बताए।
उनले आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरूको भूमिकामा निर्भर हुने बताए। अहिले सांसदहरू नै संसद अधिवेशनको लागि तयार नदेखिएको उनको भनाई छ।
उनले भने, ‘आगामी संसद अधिवेशन कहिले बोलाउने भन्ने विषयमा पनि संसदहरूको भूमिकामा निर्भर हुन्छ र हुनुपर्छ। तर सांसदहरू नै त्यो तयार छैनौं। संसदमा पेस भएका विधेयकहरूलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद अधिवेशन छिटो बोलाउन दबाब दिनसक्छौं। सरकारले बोलाउनु पनि हुन्छ।’
संसदको गरिमा उच्च रहेको र सांसदको भूमिका महत्वपूर्ण रहेको भन्दै सांसदहरूले संसदलाई कम ठानेर नलाग्न आग्रह गरे। उनले सांसदहरूले आफ्नो उचाईबाट सरकारलाई हेर्न सक्नुपर्ने सभामुख घिमिरेले बताए।
Shares

प्रतिक्रिया