राजनीति


कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी

कीर्तिपुर नगरपालिकामा कांग्रेसको ‘क्लिनस्विप’, मेयरमा कृष्णमान डंगोल विजयी

कीर्तिपुर नगरपालिका प्रमुखमा निर्वाचित कृष्णमान डंगोल। तस्बिर : विशाल कार्की


नेपालखबर
मंसिर १७, २०८१ सोमबार २१:१०, काठमाडौँ

काठमाडौँको कीर्तिपुर नगरपालिका कांग्रेसले क्लिनस्विप गरेको छ।

२ वडाध्यक्षसँगै मेयर पदका उम्मेदवार कांग्रेसका कृष्णमान डंगोलले जित हात पारेका छन्। एमालेले तेस्रो स्थानमा चित्त बुझाउनुपरेको छ।

दोस्रो स्थानमा माओवादी उक्लिएको छ।

कीर्तिपुरको मेयर पदका लागि एमालेका सुरेन्द्र मानन्धर र माओवादीका शिवशरण महर्जन प्रतिस्पर्धामा थिए। यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन थिए।

कांग्रेसका कृष्णमानले ५ हजार ३३४ मत ल्याउँदा माओवादीका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाएका छन्। एमालेका सुरेन्द्रले ४ हजार ३३७ मत मात्र पाए। 

स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ र अर्का स्वतन्त्र उम्मेदवार कविकुमार महर्जनले १ हजार ३१४ मत प्राप्त गरे।

निर्वाचन अधिकृत इन्दिरा कार्कीले मतगणना सकिएको र चाँडै नै आधिकारिक रूपमा घोषणा गर्ने नेपालखबरलाई बताइन्।

२०७९ को निर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसकै राजकुमार नकर्मी ९ हजार ४३ मत पाएर विजयी भएका थिए। एमालेका केशरत्‍न बज्राचार्यले त्यतिखेर ५ हजार ५०७ मत ल्याएका थिए।

कांग्रेस र एमालेका दुवै उम्मेदवारले पहिलाको तुलनामा अहिले कम मत पाएका छन्।

अघिल्लो चुनावमा माओवादीका शिवशरण महर्जन नै उम्मेदवार थिए र उनले ४ हजार ९० मत पाएका थिए। अहिले उनले जित हासिल गर्न नसके पनि मत संख्या बढाएका छन् र एमाले उम्मेदवारलाई उछिनेका छन्।

दुवै वडाध्यक्षमा कांग्रेस
काठमाडौँको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले ४९८ मत मात्रै पाए।

अघिल्लो चुनावमा यस वडामा कांग्रेसका हीरालाल महर्जन निर्वाचित भएका थिए। त्यतिखेर एमालेका हर्ष महर्जन नै उनीसँग पराजित भएका थिए।

कीर्तिपुरकै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए। उनले ७४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले ४९५ मत पाइन्।

अघिल्लो चुनावमा यस वडाको अध्यक्षमा श्‍यामकुमार अधिकारी स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए। उनले १ हजार ३८० मत पाएका थिए।

त्यतिखेर कांग्रेसका राजेन्द्र बानियाँ दोस्रो स्थानमा थिए। उनले १ हजार ५७ मत पाएका थिए भने एमालेका ईश्‍वरकुमार बाँस्कोटाले जम्मा २ सय ३६ मत पाएका थिए।

रोचक त के भने बानियाँले पहिला १ हजार ५७ मत पाउँदा पनि जित्न सकेका थिएनन् । तर अहिले ७४२ मत मात्र पाउँदा पनि वडाध्यक्षको कुर्सीमा बस्न पाउने भएका छन्। 

(अद्यावधिक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad