नकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आवश्यक रहेको बताएका छन्।
शनिबार काठमाडौँमा मोहनविक्रम सिंहको पुस्तक कामरेड जलजलाको विमोचन समारोहमा बोल्दै उनले यसका लागि कम्युनिष्ट आन्दोलनलाई बचाइराख्नुपर्ने बताए।
मानव जातिभित्र असल पनि र खराब पनि रहेको उल्लेख गर्दै नेपालका नेताहरुभित्र पनि असल र खराबका साथसाथै भ्रष्ट, पतित, स्वार्थी, मतलवी र देश बेच्ने प्रपञ्च रच्नेहरु पनि रहेको टिप्पणी गरे।
उनले भने, ‘कसरी यो देशको राजनीतिलाई सही दिशामा लिएर जाने? यसको निम्ति कसरी कम्युनिष्ट आन्दोलनको शुरुवात गर्ने आदरणीय हाम्रा अघिल्लो पुस्ताका नेताहरु, मोहनविक्रम सिंह जस्ता योद्धाहरु जसले सबै चुनौतिहरुको सामना गर्दै आउनुभएको छ । अनेकौँ उत्ताचढावहरु सामना गर्नुभयो । झन्डै झन्दै कम्युनिष्ट आन्दोलनहरु सिद्धिने हो की भन्नै अवस्था भयो । विघटनको अवस्थामा पुग्ने हो की समर्पणको दिशामा जाने हो कि भन्ने थियो।’
आँट गरेपछि पार नलाग्ने केही पनि नरहेको तर त्यसका लागि सकारात्मक सोचका साथ लाग्नुपर्ने नेपालको भनाई छ।
‘मानव जातिभित्र असल पनि छ । कमजोर पनि छ । नेताहरुभित्र असल पनि छन्, कमसल पनि छन्, भ्रष्ट पनि छन्, पतीत पनि छन्, स्वार्थी पनि छन् । मतलवी पनि छन् । देश बेच्ने प्रपञ्च रच्ने, सिध्याने पनि छन् । चुनौतीको सामना गर्ने हो’, अध्यक्ष नेपालले भने।
अध्यक्ष नेपालले समाज र जनताप्रतिको उत्तरदायित्वको बोध नेताहरुले गर्नुपर्ने बताए।
Shares

प्रतिक्रिया