राजनीति


उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह

नेपालखबर
मंसिर १५, २०८१ शनिबार १७:५७, काठमाडौँ

भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले भोलि आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।

मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ।

निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ। मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई यसअघि नै अनुरोध गरिसकेको छ।

मतदान कार्य सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न, मतदातालाई भयमुक्त वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्।

आयोगले मतदान केन्द्रमा शान्त र सहिष्णु वातावरण कायम राख्दै मतदान कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्ने/गराउने कार्यमा सबै राजनीतिक दल, मतदाता, उम्मेदवार, सञ्चारकर्मी, पर्यवेक्षकलगायत सबै सरोकारवालासँग सहयोगको अपेक्षा गरेको छ।

आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ।रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad