गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बजार अनुगमन समितिलाई कार्य योजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ।
आइतबार समितिले प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरुसँग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दै समितिले बजार अनुगमन कार्ययोजना बनाएर गर्न र त्यसको रिपोर्ट त्रैमासिक रुपमा अर्थ तथा विकास समितिमा पेश गर्न पनि अनुगमन समितिलाई निर्देशन दिएको हो।
समितिका सभापति दीपक कोइरालाले बजारमा ग्यासको अभाव सृजना भएको, खाद्यान्नमा मूल्यबृद्धि भएको, सामानको कृत्रिम अभाव सृजना भएको जस्ता गुनासो समितिमा आएको भन्दै अनुगमन समितिलाई कडाईका साथ अनुगमन गर्न निर्देशन दिए। आइतबार परेको विश्व उपभोक्ता अधिकार दिवसको शुभकामना दिँदै सभापति कोइरालाले जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने उपभोग्य खाद्यान्नमा विशेष ध्यान दिन अनुगमन समितिलाई आग्रह गरे।
अनुगमन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज आचार्यले अनुगमनको क्रममा उपभोक्ताले स्टक राख्ने, ब्यापारीले मौका छोप्ने जस्ता क्रियाकलाप गरेको पाइएकोले बजारमा केही समस्या देखिएको बताए। सरकारी सयंन्त्रबाट नियमन र अनुगमन बढी आबश्यक देखिएको उनको भनाई थियो।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बजारमा ६ महिनालाई पुग्ने खाद्यान्न, एलपी ग्यास र ३ दिनलाई पुग्ने इन्धन रहेको बताए।
शर्माले पनि उपभोक्ताले स्टक राख्दा बजारमा समस्या देखिएको बताए। माक्समा कालोबजारी गर्नेलाई काराबाही भएको भन्दै बजार अनुगमन तिव्ररुपमा गरिएको बताए। उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले खाद्यान सामाग्री यथेष्ट छ भने पनि बजारमा भने समस्या देखिएको बताए। बजारमा अनुगमनको तौरतरिका पुरानै भएकोले बजारमा कालोबजारीमा कमि नआएको उनको भनाई थियो। अुनगमन निरीक्षक नहुँदा ठाउँको ठाउँ कारबाही गर्न नसकिएको बताए।
अर्थ तथा विकास समितिका सदस्य इन्द्रलाल सापकोटाले बजारमा देखिएका ब्यथिति अन्त्य गर्न सबै लाग्नु पर्नेमा जोड दिए। उनले बजारमा खसिको मासु भनेर बाख्रीको मासु बेच्ने गरेको गुनासो धेरै आएको भन्दै अनुगमन समितिलाई त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे।

प्रतिक्रिया