राजनीति


ओनसरी भन्छिन् : सभामुख हुँदा केही नजान्ने अनपढ भनेर प्रचार गरेछन्, अनि पढ्न थालेँ

ओनसरी भन्छिन् : सभामुख हुँदा केही नजान्ने अनपढ भनेर प्रचार गरेछन्, अनि पढ्न थालेँ

नेपालखबर
मंसिर १२, २०८१ बुधबार १५:५९, काठमाडौँ

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले महिलालाई राज्यका हरेक निकायको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्ने बताएकी छन्।

बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाले अझै पनि राज्यका निकायहरूमा मुख्य जिम्मेवारी नभई कसैको सहयोगीको रूपमा जिम्मेवारी वहन गर्नुपर्ने स्थिति रहेको बताएकी हुन्।

मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि महिलाको क्षमतामाथि शंका उपशंका गर्ने गरेको अनुभव पनि उनले सुनाइन्। आफू सभामुख रहँदा तत्कालीन मन्त्री र राजनीतिक दलहरूले नै आफ्नो क्षमतामाथि आंशका गर्दा डर पैदा गराएको भए पनि आफ्नो जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गरेको उनको भनाइ थियो।

महिलामाथि मानसिक समस्या सिर्जना गर्ने वातावरणको अन्त्य गरी महिलाका लागि राज्यका हरेक निकायमा ढोका खोल्न आफू केही हदसम्म सफल रहेको उनको दाबी छ।

भिडिओ:

उनले भनिन्, ‘आज पनि महिलालाई समाज र राज्यप्रणालीमा जिम्मेवारी दिइँदैन। दिए पनि ‘सह’ जिम्मेवारी दिइन्छ। कसैको सहयोगीको रूपमा जिम्मेवारी हेरिन्छ, मुख्य जिम्मेवारी होइन। मुख्य जिम्मेवारी दिइएको ठाउँमा पनि यसले सक्छ र? भनेर शंका र उपशंकाहरू गर्ने गरिन्छ। म सभामुख भएँ। सबैभन्दा उच्च ओहोदाको कार्यकारी पद हो। सभामुख चलाएँ।’

उनले तत्कालीन मन्त्रीहरूले आफ्नो शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाएको स्मरण गरिन्।

उनले थपिन्, ‘पछि मैले सभामुख सम्हालिसकेपछि कक्षा १२ सम्म पढेँ। अहिले त बेचुलरको फाइनल परीक्षा दिएँ। अनि परीक्षा दिँदा म्याम आफैं लेख्ने हो कि लेख्ने मान्छे चाहिन्छ भनेर सोध्नुभयो। मलाई त केही नजान्ने अनपढ भनेर प्रचार गरिएको रहेछ। महिलामाथि यसरी हिंसा हुन्छ। त्यसैले मैले आम नेपाली महिलाको हैसियतले सबै महिलाहरूका लागि ढोका खोल्नको लागि प्रभावकारी रुपमा निभाएँ।’

छोरी भएकै कारण समाजमा भोग्नुपरेका पीडा र समस्याहरूको अन्त्य गर्न आफू राजनीतिमा लागेको दाबी गर्दै उनले आउँदो पुस्ताले बिना संघर्ष बाँच्न पाउने वातारणको सिर्जना गर्न सबै लाग्न एकजुट भएर लाग्न आवश्यक रहेको बताइन्।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले महिलाहरूको क्षमतामाथि प्रश्न उठाउनुभन्दा उनीहरूको क्षमता विकासमा जोड दिन आवश्यक रहेको बताइन्। उनले पटक पटकको आन्दोलनको उपलब्धी स्वरुप आज महिला अधिकार स्थापित भएको बताउँदै यसको स्वामित्व पनि सबैले पाउनुपर्ने बताइन्।

उनले आफूले अहिलेसम्म पाएको जिम्मेवारी कसैको भन्दा कमजोर नगरेको उल्लेख गर्दै सबै महिलाहरूले राज्यका हरेक निकायमा सहभागिताका लागि अभ्यास गर्नुपर्ने बताइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad