प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आयोजना गरेको पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँगको परामर्श बैठकका सहभागीहरू विश्वभर ‘कनेक्टिभिटी’ वृद्धिका लागि चीनले अघि सारेको विकास परियोजना ‘बीआरआई’ बारे केन्द्रित भए।
तर, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा नेपालको परराष्ट्रनीतिको मुख्य स्तम्भको रूपमा रहेको असंलग्नता र राष्ट्रिय सुरक्षाका विषयमा केन्द्रित भए। ‘बीआरआईका बारेमा बैठकमा सहभागी अन्य साथीहरूले धेरै बोलिसक्नुभएको थियो,’ पूर्वपरराष्ट्रमन्त्री थापाले नेपालखबरसँग भने, ‘मैले भने नयाँ विश्व राजनीतिको सन्दर्भमा असंलग्न परराष्ट्रनीतिको महत्त्व अरू बढेकाले त्यसलाई ध्यान दिन आग्रह गरेँ।’
‘हामीले सदैब छिमेकीहरूसँग सुदृढ सम्बन्ध विकासमा जोड दिनुपर्छ,’ बैठकमा आफूले राखेका कुरा उल्लेख गर्दै थापाले भने, ‘यसका लागि सन्तुलन कायम गरी छिमेकीहरूसँग सौहार्दपूर्ण सम्बन्धको वातावरण बनाउनुपर्छ।’
विश्वको भूराजनीतिमा फरक खालको हलचल सिर्जना भएकाले नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्रनीतिको महत्त्व अरू बढेको उनको भनाइ थियो। ‘विश्व राजनीतिमा नयाँ खालको भूराजनीतिक हलचल छ, यो कुरा बुझेर अघि बढ्नुपर्छ,’ पूर्वपरराष्ट्रमन्त्री थापाले दिएको सुझाव यस्तो थियो, ‘यो हलचलका बेला हामीले आफूलाई सुरक्षित राख्नुपर्छ।’
‘त्यो भनेको नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्रनीतिको निरन्तरता हो,’ उनले भने, ‘हामी असंलग्न आन्दोलनको पहिलो सम्मेलनदेखिका सदस्य हौँ। त्यसलाई हामीले अझ दह्रोसँग निरन्तरता दिनुपर्छ।’
Shares

प्रतिक्रिया