राजनीति


चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने

सामाजिक सञ्जालबाटै दिए यस्ता सुझाव
चीन भ्रमणबारे छलफल गर्न ओलीले पूर्वप्रधानमन्त्रीहरूलाई बोलाए सिंहदरबार, बाबुराम नजाने

फाइल तस्बिर


नेपालखबर
मंसिर १०, २०८१ सोमबार ८:५९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) आफ्नो चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरूसँग छलफल गर्दै छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा हुने छ।

यसैबीच पूर्वप्रप्रधानमन्त्री डा. बाबुराम भट्टराई उक्त छलफलमा सहभागी नहुने भएका छन्। 

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका डा. भट्टराईले आफू गृहजिल्ला गोरखा जान लागेकाले चीन भ्रमणका सन्दर्भमा प्रधानमन्त्री ओलीले बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने बताएका हुन्। 

उनले सामाजिक सञ्जाल एक्समार्फत आफू छलफलमा सहभागी हुन नसक्ने जानकारी गराउँदै केही सुझाव भने दिएका छन्।

भट्टराईले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको स्मरण गराउँदै चीन भ्रमणका क्रममा यो कुरा ख्याल राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्।

यस्तै उनले दुई उदीयमान र प्रतिस्पर्धी शक्ति चीन र भारतबीचमा रहेको देश नेपालको विशिष्ट भूरणनीतिक, भूआर्थिक र भूराजनीतिक स्थितिलाई ध्यानमा राख्दै सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्न पनि सरकारलाई सुझाव दिएका छन्। 

डा. भट्टराईले हाम्रो कमजोर अर्थतन्त्रलाई कमभन्दा कम समयमा विकसित चरणमा पुर्‍याउन वैदेशिक व्यापार, पुँजी, प्रविधि, ज्ञान र सद्‌भाव आवश्यक रहेको उल्लेख गर्दै चीनको बीआरआईबाट फाइदा उठाउनै पर्नेमा जोड पनि दिएका छन्।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणका लागि प्रस्थान गर्दै छन्।

हेर्नुहोस् बाबुरामको पोस्ट-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad