राजनीति


निर्वाचन बिथोलियो भने सीडीओ र जिल्लाका प्रहरी प्रमुख जिम्मेवार : गृहमन्त्री लेखक

निर्वाचन बिथोलियो भने सीडीओ र जिल्लाका प्रहरी प्रमुख जिम्मेवार : गृहमन्त्री लेखक

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार १९:५४, काठमाडौँ

गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन्।

शुक्रबार भर्चुवल विधिबाट ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधीकारीसितको बैठकका क्रममा बोल्दै गृहमन्त्री लेखकले निर्वाचन सुरक्षा सामान्य रुपमा नलिन समेत आग्रह गरे।

‘३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुदैछ’ उनले भने,‘शान्ति सुरक्षा नभएर पुनः मतदानको स्थिती आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला।’

निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेना समेत परिचालन गर्न सक्ने विषयमा सरकारले तयारी गरेको बताउँदै उनले शान्ति सुरक्षाकै कारण निर्वाचन बिथोलिने स्थिती आउन नदिन आग्रह गरे।

‘लोकतन्त्रको आधारस्तम्भ भनेकै निर्वाचन हो’ गृहमन्त्री लेखकले भने, ‘त्यसकारण भयरहित वातावरणमा निर्वाचन गराउन खटिनुहोस्।’

उनले पछिल्लो समय मुलुकमा लागुऔषधको अवैध कारोबार र दुर्व्यसन बढ्नुका साथै ठूलो चुनौतीका रुपमा देखा परेको बताए।

‘लागुऔषध नियन्त्रणमा कारबाहीसँगै सचेतनामा समेत जिल्लामा जोड दिन निर्देश गर्दछु’ उनले भने, ‘भ्रष्टाचार र अवाञ्छनीय स्वीकार्य छैन।’

त्यसैगरी सामाजिक सञ्जाल र डिजिटल मिडियाका माध्यमको दुरुपयोग बढेकोप्रति चिन्ता व्यक्त गर्दै सो नियन्त्रणका लागि प्रहरीको साइबर ब्युरोले कारबाही अघि बढाइरहेको बताए।

‘जिल्लामा पनि हेडस्पीज दिने, अरुको मनमार्दन गरेर सामाजिक सञ्चाल प्रयोग गर्ने कार्य हुदैछन्’ उनले भने, ‘लोकतन्त्र अनुशासनको पद्धती हो, अराजकताको पद्धती होइन।’

उनले देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रलाई राजश्व चुहावन नियन्त्रण, पछिल्लो समय चुनौतीका रुपमा देखिएको लागुऔषध नियन्त्रण, आत्महत्या न्युनीकरण र सवारी दुर्घटना न्युनीकरणमा गम्भीर भएर काम गर्न निर्देशन दिए।

उनले नागरिकको गुनासो व्यवस्थापनका लागि गृह मन्त्रालयले आवश्यक संयन्त्र निर्माण गरिरहेको जानकारी समेत दिए।

‘२४ सै घण्टा काम गर्ने गरी गुनासो व्यवस्थापन केन्द्र स्थापना केही दिनमै हुन्छ’ उनले भने, ‘जिल्लामा नागरिकको गुनासो सुन्ने पहिलो अधिकारी नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले हो।’

त्यसैगरी गृहसचिव गोकर्णमणी दुवाडीले सरकारप्रति नागरिकको भरोसा बढ्ने गरी काम गर्न निर्देशन दिए। उनले वैदेशिक रोजगारीका नाउँमा ठगी, आर्थिक अपराध, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण, आत्महत्या, लागुऔषध नियन्त्रण लगायतका विषयमा पनि ध्यान दिन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा संयन्त्रलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयद्वारा आयोजित उक्त भर्जुअल बैठकमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहित मन्त्रालयको विभिन्न महाशाखाका प्रमुखहरुको सेमत सहभागिता रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad