राजनीति


बीआरआईअघि चीनसँग गरिएका अरू सम्झौता कार्यान्वयन गर्नुपर्छ : गगन थापा

'एमालेसँग मतभिन्नता छ तर सम्हाल्छौँ'
बीआरआईअघि चीनसँग गरिएका अरू सम्झौता कार्यान्वयन गर्नुपर्छ : गगन थापा

नेपालखबर
मंसिर ५, २०८१ बुधबार २१:२२, काठमाडौँ

सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएको बताएका छन्।

महमन्त्री थापाले बीआरआई सम्झौता कार्यान्वयनअघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने आफूहरूको चाहना रहेको प्रस्ट्याएका हुन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चीनसँग बीआरआई कार्यान्वयन योजनामा सम्झौता गर्नुअघि विगतमा भएका अरू सम्झौता कार्यान्वयन हुनुपर्ने र बीआरआईअन्तर्गतका योजना अनुदान सहायतामार्फत सम्पन्न हुनुपर्ने आफूहरूको अडान रहेको बताए।

उनले यस सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न आफूहरू सक्षम रहेको दाबी गरे।

थापाले भने, ‘अहिले हामी बाहिर व्यापक चर्चा सुनिरहेका छौँ। केही समयपछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ। यो विषयलाई लिएर नेपाली कांग्रेस, नेकपा एमालेबीचमा व्यापक रूपमा असहमति छ, व्यापक रूपमा मतभिन्नता छ। साथीहरू हुनुहुन्छ, ए ढल्यो ढल्यो भनेर लेखिदिनुहुन्छ। सरकारमा बसिरहेको मान्छेलाई पनि ढल्ने हो कि भन्ने लागेको पाउँछु म। तर मलाई लाग्छ– हामीले यो क्षमता राख्न सक्नुपर्छ। हामीले संविधान बनाउने क्षमता राख्न सक्यौँ भने यस्ता विषयहरूमा हाम्रा कतिपय विषयहरूमा भिन्न सोचहरू छन् भने पनि यसलाई साझा बनाउने क्षमता हामीले राख्नुपर्दछ। हाम्रा केही कुराहरू साझा छन्।’ 

दलहरूका प्राथमिकता फरक भए पनि नेपालले अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा संविधानले नै व्यवस्था गरेको कारण साझा धारणा बनाउनैपर्ने उनको भनाइ थियो।

कुनै पनि सैन्य गठबन्धनमा नेपाल समाहित नहुने तर विकास परियोजनाका लागि धेरै स्रोतसाधन चाहिएकाले त्यसमा सबैको सहयोग अपेक्षित रहने उनको भनाइ थियो। 

उनले अगाडि थपे, ‘नेपालले अर्को देशसँग कस्तो सम्बन्ध राख्ने भन्ने कुरा संविधानले नै व्यवस्था गरेको छ। हाम्रा पार्टीका नीतिहरूले हामीलाई बाँधेको छ। राष्ट्रिय हितका विषयमा हामी लामो विरासत बोकेर आएका दलहरू हौँ। हाम्रा आफ्ना सीमाहरू छन। तर हामी यो पनि मान्दछौँ कि हाम्रा प्राथमिकताहरू फरक हुन सक्दछन्। कांग्रेस नेपालको स्वतन्त्रता, अभिभाज्ययता, सार्वभौमिकताका सन्दर्भमा सम्झौताहीन ढंगले आफ्नो अडानमा सदा रहँदै आयो। त्यसमा हामीलाई कसैले भन्नु पनि परेन। हामीले यसलाई प्रमाणित गर्नु पनि पर्दैन। हामी सबै देशसँग समान सम्बन्ध राख्न चाहन्छौँ। हामी यो पनि प्रस्ट छौँ– कुनै पनि देशको– न छिमकी न परेको, सैन्य गठबन्धनमा नेपालको हित छैन।’

उनले विकासमा साझेदारी गर्ने क्रममा अनुदानबाट परियोजनाहरू सम्पन्न गर्न चाहेको पनि स्पष्ट पारे।

‘हामी नेपालमा अपार पुँजी लिएर आउन चाहन्छौँ। विकासका लागि धेरै स्रोत, साधन चाहिएको छ। हामी ल्याउन चाहन्छौँ,’ थापाले भने, ‘तर आजको हाम्रो राष्ट्रिय क्षमतासँग म्याच गर्नुपर्दछ भन्ने हामी ठान्दछौं। हामीसँग आज कति पुँजी परिचालन गर्ने क्षमता छ? हामी छिमेकीहरूसँग यो बेलामा सहकार्य गर्न चाहन्छौँ। हाम्रा ठूलाठूला विकासका परियोजनाहरू छन्। त्यसमा साझेदारी गर्न चाहन्छौँ। हामी उनीहरूका अनुदानबाट हाम्रा विकासका आकांक्षाहरूलाई पूरा गर्न चाहन्छौँ। यी हाम्रा प्राथमिकताहरू छन्। हामी यसभन्दा अघि भएका सबै सम्झौता पहिला कार्यान्वयन होउन्, त्यसपछि नयाँ कुराको बारेमा सोचौँ भन्ने सोच्दछौँ। हामी यो भनिरहँदै गर्दा हामीसँग सहकार्य गरेर दलसँग केही सोच फरक छन् भन्ने पनि मान्दछौँ। हामीले त्यो क्षमता राख्नुपर्दछ कि हामीसँगै बसेर एउटा धारणा बनाउनुपर्दछ भन्ने मान्दछौँ। यो आगामी दिनमा हुँदै जाने छलफलहरू हो। यो एउटा पाटो हो, हामी गर्छौँ। यो हामी सम्हाल्छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad