राजनीति


सहकारी बचतकर्ताको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति रास्वपाले जनायो आपत्ति

सहकारी बचतकर्ताको आन्दोलनमा भएको प्रहरी हस्तक्षेपप्रति रास्वपाले जनायो आपत्ति

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १९:५४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी बचतकर्तामाथि बुधबार माइतीघर मण्डलामा भएको प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाएको छ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकपछि विज्ञप्ति प्रकाशित गरी रास्वपाले सहकारीमा गरेको बचत फिर्ताको माग राखी सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी दमनको भर्त्सना गरेको छ।

‘आमनागरिकले पाइपाइ गरेर जम्मा गरेको बचत रकम फिर्ताको विशुद्ध उद्देश्यले आफ्ना आवाज बुलन्द गर्ने नागरिकको नैसर्गिक अधिकार हो’ रास्वपाले भनेको छ, ‘पीडित सर्वसाधारण नागरिकका हक प्राप्तिमा प्रभावकारी कदम चल्नुको सट्टा उठेको आवाज दबाउने कार्य सरकारको अधिनायकवादी कदम हो।’

यसले सरकार नागरिकका समस्याप्रतिको असंवेदनशीलता प्रदर्शन गरेको रास्वपाको ठहर छ।

रास्वपाले सहकारी पीडितका मुद्दा समाधान तथा दोषी उपर अबिलम्ब कानुनी कारबाहीका लागि प्रभावकारी कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

सो दलले दोस्रो चरणको आन्दोलनको तात्कालिक स्वरुप स्थानीय निर्वाचनसँग सम्बन्धित अभियानका माध्यमबाट अगाडि बढाउने र गत कात्तिक २४ गतेको केन्द्रीय समितिको निर्णय बमोजिम आसन्न स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा स्थानीय जनजीविकाका समस्या, राजनीतिक प्रतिशोध र सहकारी, लघुवित्त, मिटरब्याज पीडित, भ्रष्टाचारका काण्डहरुको छानबिन, अर्थतन्त्र र युवा बेरोजगारी, प्रवास, संविधान संशोधन लगायतका राष्ट्रिय मुद्दाहरुको स्थानीयकरणमा केन्द्रित हुने निर्णय पनि गरेको छ।

त्यस्तै केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको विवादास्पद विषयमा केही व्यक्तिहरुसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad