राजनीति


अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैनः प्रदीप ज्ञवाली

अराजकता र लोकतन्त्र सँगसँगै जान सक्दैनः प्रदीप ज्ञवाली

नेपालखबर
मंसिर ५, २०८१ बुधबार १८:१५, काठमाडौँ

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने बताएका छन्। एमाले प्रचार विभागले आयोजना गरेको सम्पादकसँग अन्तर्क्रिया कार्यक्रममा उपमहासचिव ज्ञवालीले सामाजिक सद्भावका लागि मंसिर ७ गते जागरण सभा गर्न लागेको जानकारी पनि दिए। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘फेक’ डकुमेन्ट बनाएर गरिएको प्रचारप्रसार, रवीन्द्र मिश्रसँग माओवादी अध्यक्ष प्रचण्डले गरेको कुराकानी र प्रचण्डले भारतीय सञ्चार माध्ययमलाई दिएका अभिव्यक्तिजस्ता कुराहरू अस्थिरताको हुइयाँ चलाउनेहरूको योजनाबद्ध हर्कत भएको टिप्पणी गरे।

प्रचण्डका अभिव्यक्ति खेदजनक भएको उनको भनाइ थियो। प्रचण्डले केही दिनअघि भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको आरोप लगाएका थिए। 

उनले मंसिर ७ मा एमालेले गर्न लागेको कार्यक्रम लोकतन्त्र असान्दर्भिक भयो कि भन्नेहरूका विरुद्धको जागरण अभियान भएको पनि उल्लेख गरे।

‘हामीले सामाजिक सद्भावका लागि पनि जागरण अभियान चलाउन लागका हौँ,’ उनले भने, ‘यो अपिल जनतामा लैजान खोजेको हो। अहिलेको सरकारले जनतालाई सेवा दिने कुरामा कमजोरी गर्नुहुन्न। तर, अहिले केही भएको छैन भनेर बाहिर जे भाष्य निर्माण गर्न खोजिएको छ, त्यसले देशको मनोबल कमजोर बनाउने प्रयास भएको छ। राष्ट्रको मनोबल कमजोर हुनु भनेको राजनीतिक दल मात्रै होइन, सञ्चार क्षेत्र पनि कमजोर बन्नु हो।’

उनले डोल्पा, हुम्लाजस्ता विटक ठाउँहरू राष्ट्रिय सडक सञ्जालमा जोडिनु पनि लोकतन्त्रको सफल उदाहरण भएको बताए।

‘हाम्रो यात्रा निराश छैन, भएका कुरालाई पर्दा लगाउने कुरा गलत छ,’ उनले भने।

उनले दुर्गा प्रसाईँ प्रवृत्ति गलत भएको भन्दै कुनै बेला संरक्षण गर्ने कुरामा ध्यान नपुगेको सत्य भएको स्वीकार गरे।

लोकतन्त्रका लागि पार्टी बलियो हुनुपर्ने र लोकतन्त्र कमजोर भयो भने मिडिया पनि कमजोर हुने भएकाले सबैलाई लोकतन्त्र बलियो बनाउन सहयोग गर्न आग्रह पनि उनले गरे।

उनले राजनीतिलाई स्थायित्व दिन जनतामा डेलिभरी चाहिने कुरामा सत्ता गठबन्धन सचेत रहेको जानकारी पनि दिए।

प्रचण्डका कतिपय गतिविधिका कारण लोकतन्त्र नै खतरामा पर्न सक्ने जोखिम देखेर उनीसँगको सहकार्य त्यागेर कांग्रेससँग सहायात्रा गरेको तर्क पनि उनले गरे।

‘मसँग म्याजिक नम्बर छ भनेर त्यसको जगमा उभिएरपछि हामी गम्भीर भयौँ। यो गठबन्धनका परिवर्तनका मुख्य स्टेकहोल्डर हौँ। लोकतन्त्र खतरामा पर्छ भनेर हामीले ७ बुँदे सहमति गरेको हो,’ उनले भने। 

उनले दुई ठूला दलको सहकार्यमा सरकार बनेपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको र जनतामा भरोसा जगाएको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad