राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै प्रयास गर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्ने समय नदिएको गुनासो गरेको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले आइतबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र वाचन गरेर सुनाउनका लागि धेरै प्रयास गर्दा पनि बेवास्ता गरेको गुनासो गरे।
‘हामीले केही राजनीतिक बुँदाहरू राखेर, यो तयार गरेर र प्रधानमन्त्रीज्यूलाई भेटेर नै बुझाउन चाहन्थ्यौं,’ झाले भने, ‘यो देशको चौथो राजनीतिक दलले प्रधानमन्त्रीलाई गएर राजनीतिक प्रक्रियाअन्तर्गत बुझाउने प्रयास गर्यौँ। लगभग पाँच दिन प्रयास गर्यौँ।’
आफूहरूले ज्ञापनपत्र बुझाउने कुरालाई प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा गएर खिसिट्युरी गरेको तर भेट्न समय नदिएको झाले बताए।
‘कुनै कार्यक्रममा गएर घण्टौँ भाषण गर्ने क्रममा उहाँले ज्ञापनपत्र लिएर आउँछन् क्यारे, फोटो खिचेर पठाउँला भनेर पनि उहाँले खिसिट्युरी गर्नुभयो। विभिन्न ठाउँमा गएर बोल्नुभयो,’ उनले भने, ‘तर, हामीलाई पाँच मिनेट मात्रै दिनुहोस्, हामी वाचन गरेर बुझाउँछौं भनेर पाँच दिनदेखि अनुरोध गर्दा पनि उहाँले बेवास्ता गर्नुभयो। हामी आउँछौँ भन्ने कुराको खिसिट्युरीचाहिँ ठाउँठाउँमा गएर गर्नुभयो तर हामीलाई भेट्न समय दिनुएन।’
आफ्ना सभापति रवि लामिछानेको पक्राउविरुद्ध सडक संघर्ष गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको घोषणा गर्नुअघि त्यसका एजेन्डा प्रधानमन्त्री ओलीलाई सुनाउन चाहेको थियो।
Shares

प्रतिक्रिया