नेपाली सेनाका सहायक रथी टंकप्रसाद भट्ट उपरथीमा विशेष बढुवा भएका छन्।
उमेर हदका कारण एक महिनापछि अनिवार्य अवकाश हुन लागेका भट्टलाई आइतबार प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
सहायक रथीको ५६ वर्षे उमेर हदका कारण उनी एक महिनापछि अवकाश हुनेछन्। भट्टले उपरथीमा बढुवा हुन आवश्यक तालिम लगायतका कोर्ष पूरा गरिसकेका छन्।
भट्ट राष्ट्रिय रक्षा विश्वविद्यालयमा कार्यरत थिए। नेपाली सेनामा दुई जना उपरथीको दरबन्दी रिक्त भएको छ। तर यी दरबन्दीमा भने छुट्टै बढुवा गरिनेछ।
उपरथी बाबुराम श्रेष्ठको अवकाश र प्रदीपजंग केसी रथीमा बढुवाका लागि सिफारिस भइसकेका छन्।
अब बस्ने मन्त्रपरिषद् बैठकले रथीमा बढुवाको निर्णय गर्नेछ।
त्यससँगै नेपाली सेनाका दुईजना सहायक रथी उपरथीमा बढुवा गर्ने प्रक्रिया सुरु हुनेछ। बढुवा हुने उम्मेदवार बारे सेनाले ७ दिने सूचना प्रकाशित गरेर कुनै उजुरी भए आह्वान गर्नेछ।
उजुरी परे छानबिनपछि र नपरे सिधै बढुवाका लागि सिफारिसको निर्णय गर्नेछ।
Shares

प्रतिक्रिया