राजनीति


सीआईबीमा धनराजसँग ५ घण्टा बयान : ‘डिभोर्स’देखि मीनबहादुरको ऋणसम्म सोधपुछ

सीआईबीमा धनराजसँग ५ घण्टा बयान : ‘डिभोर्स’देखि मीनबहादुरको ऋणसम्म सोधपुछ

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १९:९, काठमाडौँ

मितेरी सहकारी ठगीमा नाम जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार बयान कागज गराएको छ।

बुधबार दिउँसो करिव ५ घण्टा उनीसँग बयान कागज गराइएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

‘मितेरी सहकारीको विषयमा उठेका प्रश्नका बारेमा उहाँसँग सोधखोज गरेको हो। उहाँले आफ्ना कुरा राख्नुभयो। हामीले जुन जुन विषय उठेका थिए, ती विषयमा के भएको हो भनेर सोध्यौँ’, एसपी बोगटीले भने।

श्रीमती ज्योति गुरुङ व्यवस्थापक रहेको ललितपुरको मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा धनराज गुरुङ पनि जोडिएका हुन्। ज्योतीले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। ज्योतिविरुद्ध सहकारीकै अध्यक्ष कुम्भराज गुरुङले समेत सीआईबीमा जाहेरी दिएका थिए।

धनराजले भने ज्योतिसँग २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भइसकेको बताउँदै आएका छन्। तर सम्बन्ध विच्छेदपछि पनि धनराजले ज्योतिको नाममा रहेको सहकारीको ऋण समेत तिरेका थिए।

बयानका क्रममा उनले सम्बन्ध विच्छेदकै क्रममा सहकारीबाट लिएको ऋण आफूले तिर्ने र सम्बन्ध विच्छेद गर्दा ज्योतिले कुनै पनि सम्पत्ति दाबी नगर्ने शर्त रहेको बताएका छन्। सम्बन्ध विच्छेदपछि ज्योतिसँग भेटघाट नभएको र अहिले कहाँ छिन् भन्ने पनि थाहा नभएको उनको भनाई छ।

पहिल्यै सम्बन्ध विच्छेद भइसकेको भनेका गुरुङले २०७९ को निर्वाचनमा उम्मेदवार फारममा श्रीमती ज्योति गुरुङ नै उल्लेख गरेको भेटिएको छ। यस बारेमा पनि सीआईबीले के भएको भनेर उनीसँग सोधेको छ।

उनले उम्मेदवारी दर्ता गर्दा आफू हत्तारमा पुगेको र पार्टीका कार्यकर्ताले नै उम्मेदवारी फारम भरेर तयार राखेको र उनीहरुले सम्बन्ध विच्छेद भइसकेको थाहा नपाएर यस्तो उल्लेख हुन गएको जवाफ दिएका छन्। यो प्राविधिक त्रुटी मात्रै भएको उनको जवाफ छ।

सम्बन्ध विच्छेदपछि सहकारीबाट लिएको ऋणमा पनि हकवालाको स्थानमा श्रीमती ज्योतिकै नाम उल्लेख थियो। तर यस विषयमा पनि धनराजले सहकारीका कर्मचारीकै कारण ज्योतिको नाम उल्लेख भएको जवाफ दिएका छन्।

२०७७ फागुन ३ गते पहिलेकै ऋणमा १२ लाख थप गरेको र पहिलेकै फाइलमा राख्ने भएकाले नयाँ फारम भर्न नपर्ने भएकाले आफूलाई सही छाप गर्न लगाएको उनको जवाफ छ। हकवालाको स्थानमा श्रीमतीको नाम किन र कसले उल्लेख गर्यो भन्ने आफूलाई भन्दा पनि सहकारीलाई नै जानकारी हुने जवाफ दिएका छन्।

सहकारीमा घर धितो राखेर लिएको ऋण चुक्ता नगरेपछि सहकारीले नै घर बिक्री गरेको थियो। २०७८ चैत ४ गते सहकारीले एक करोड ८५ लाखमा घर बिक्री गर्दा पनि गुरुङका नाममा ८४ लाख रुपैयाँ ऋण बाँकी रहेको थियो।

यो ऋणको विषयमा गुरुङ र सहकारीबीच विवाद भएको थियो। गुरुङले घर बिक्री गरिसकेपछि पनि यत्रो ऋण कसरी रह्यो भन्दै सहकारीलाई प्रस्न गरेका थिए। तर सहकारीले ब्याजसहितको यति रकम रहेको अडान नछाडेपछि गुरुङले व्यवसायी मिनबहादुर गुरुङससँग लिएर ऋण चुक्ता गरेको जवाफ दिएका छन्।

मिनबहादुर धनराजका सम्धी नाता पर्छन्। मिनबहादुरसँग ऋण लिँदा वकिललाई कागज नै गराएको लिएको उनको जवाफ छ।

धनराजले आफूमाथि राज्यका जुनसुकै निकायलाई छानबिन गर्न आग्रह गर्दै अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका थिए। उनले ज्योति गुरुङ जहाँ भएपनि झिकाएर अनुसन्धान गर्न र सहकारीको अपचलन गरिएको पैसा पीडितलाई फिर्ता गराउन पनि सरकारलाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad