राजनीति


कृषिमन्त्री अधिकारी र मेक्सिकोका कृषिमन्त्री बर्डेगाबीच भेट

कृषिमन्त्री अधिकारी र मेक्सिकोका कृषिमन्त्री बर्डेगाबीच भेट

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार ७:२०, काठमाडौँ

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र मेक्सिको सरकारका कृषि तथा ग्रामीण विकासमन्त्री जुलियो बर्डेगाबीच भेटवार्ता भएको छ। 

मकै तथा गहुँ बालीसम्बन्धी सम्मेलनमा भाग लिन मेक्सिकोमा रहेका मन्त्री अधिकारीले मेक्सिकोका मन्त्री बर्डेगासँग मंगलबार भेटवार्ता गरेका हुन्। भेटमा मन्त्री अधिकारीले सन् १९७५ नोभेम्बर २५ मा नेपाल र मेक्सिकोबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको बताए। 

दुई देशबीचको चार दशक लामो सम्बन्ध द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा विश्वास, समझदारी र सहयोगद्वारा प्रतिविम्बित भएको उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल सरकारले गहुँ र मकै जस्ता आधारभूत खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउने र औद्योगिक आवश्यकताका लागि यस्ता उत्पादनको माग पूरा गर्नेतर्फ काम गरिरहेको बताए। 

नेपाल सरकारले  घोषणा गरेको कृषिमा लगानी दशक र यसका लागि द्विपक्षीय सहयोगलगायत विभिन्न क्षेत्रबाट कृषि क्षेत्रका लागि लगानी खोजी गरिरहेको जानकारी दिँदै मन्त्री अधिकारीले कृषिको क्षेत्रमा दुई देशबीचको सम्भावित सहयोग, सिमिटको नेतृत्वमा नेपालमा ‘मास एग्रो मोडल’ कार्यान्वयन र  कृषि क्षेत्रमा सहकार्य बढाउन आग्रह गरे। 

मन्त्री अधिकारीले नेपाल सरकारका तर्फबाट मेक्सिकोका पर्यटकलाई भ्रमणमा नेपाललाई प्राथमिकतामा राख्न र नेपाली कृषि उत्पादन तथा अन्य व्यापारिक वस्तुमा प्राथमिकताका साथ बजार पहुँच उपलब्ध गराउन अनुरोध गरे। 

त्यस्तै, मन्त्री अधिकारी र सिमिटका महानिर्देशक डा ब्राम गोभाएट्र्सबीच पनि भेटवार्ता भएको छ। भेटमा मन्त्री अधिकारीले नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिटको भूमिका निर्णायक रहेको र आगामी दिनमा नेपाल सरकारसँग संयुक्त रूपमा परियोजना प्रस्ताव विकास गर्न र गतिविधि सुरु गर्न आग्रह गरेका थिए। 

नेपालमा मकै र गहुँको उत्पादकत्व बढाउन सिमिटको भूमिका निर्णायक रहेकाले खाद्य उत्पादनमा बढ्दो चुनौतीहरूको सामना गर्न सिमिट जस्ता संस्थाबाट अझ बढी सहयोगको खाँचो औल्याउँदै मन्त्री अधिकारीले नेपालमा सिमिटको अझ बलियो उपस्थितिका लागि आग्रह गरे। 

सन् १९८५ बाट  नेपाल  सरकार र सिमिटबीच औपचारिक साझेदारी भए सन् १९६० देखि नै सहकार्य भइ आएको छ। 

सिमिटबाट विकसित गहुँको नयाँ जात जातको प्रयोगबाट नेपाल  हरितक्रान्तिमा समाहित भएको थियो । समन्वयात्मक अनुसन्धानका प्रयासले नेपालको तराई क्षेत्र र पहाडमा मकै र गहुँको उत्पादकत्वलाई उल्लेखनीय रूपमा बढाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad