राजनीति


रास्वपा रविका पक्षमा प्रदर्शनमा व्यस्त, चुनावी तयारी प्रभावित

रास्वपा रविका पक्षमा प्रदर्शनमा व्यस्त, चुनावी तयारी प्रभावित

बालुवाटारमा रास्वपाको प्रदर्शन । फाइल तस्बिर।


नेपालखबर
कात्तिक २७, २०८१ मंगलबार १९:५५, काठमाडौँ

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सभापति रवि लामिछानेका पक्षमा सडक प्रदर्शनमा व्यस्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने उपचुनावका लागि उम्मेदवार टुंग्याउन विलम्ब गरेको छ।

पार्टीभित्र प्रारम्भिक चुनाव (प्राइमरी इलेक्सन) गरी उम्मेदवार छान्ने भन्दै तालिका सार्वजनिक गरेको रास्वपाले त्यसअनुसारको काम भने गर्न सकेको छैन। 

रास्वपाको केन्द्रीय निर्वाचन संयोजन समितिले कात्तिक २२ गतेदेखि २५ गतेसम्म उम्मेदवारी दर्ता, २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २८ गते मतदान-निर्णय गर्ने तालिका बनाएको थियो। 

त्यसअनुसार आज (मंगलबार) नै उम्मेदबार बन्न आवेदन दिएकाहरूको अन्तिम नामावली प्रकाशन गर्नुपर्दथ्यो तर धेरैठाउँमा त्यस्तो हुन सकेको छैन। 

जस्तो कि काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) र २ वडाध्यका उम्मेदवार सार्वजनिक हुन सकेनन्। आफूहरूको भन्दा पनि अन्यत्र नटुंगिएका कारण आज नाम सार्वजनिक हुन नसकेको कीर्तिपुर नगर सभापति जयराम कार्कीले बताए। ‘आज नाम सार्वजनिक भएन,’ उनले भने, ‘हाम्रो कारणले भन्दा पनि अरूतिर नसकिँदा हाम्रो पनि सार्वजनिक भएन।’

कर्णाली प्रदेशको चुनावी कमान्डर तोकिएकी कोषाध्यक्ष लिमा अधिकारीले सभापति पक्राउको विरोधमा आन्दोलित बन्नुपर्दा र भौगोलिक विकटतका कारण कर्णाली प्रदेशमा सबै नाम सार्वजनिक हुन नसकेको बताइन्। 

‘धेरै ठाउँको विवरण आएको छ,’ अधिकारीले भनिन्, ‘तर केही ठाउँमा समय माग्नुभएको छ। आन्दोलन र विकटताका कारण पनि निवदेन दिन ढिला भएकाले केही साथीहरूले अलि समय माग्नुभएको छ।’

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले पनि उम्मेदवार टुंग्याउन केही लिढाइ भएको स्वीकार गरे। ‘स्थापित राजनीतिक दलहरूको सबै संयन्त्र हुन्छ। उनीहरू कोको भिड्ने भन्ने पहिले नै तय हुन्छ,’ उनले भने, ‘हाम्रोमा संवाद भइराखेको छ। साथीहरूले काम गर्दै हुनुहुन्छ।’

धेरैतिरबाट समय माग भएर आएको पराजुलीले जानकारी दिए। ‘हामी काम गर्दै छौं, हामीलाई समय दिनुहोस् है भनेर भन्नुभएको छ,’ उनले सुनाए। 

मंसिर १६ गते विभिन्न ४४ पदमा उपचुनाव हुँदै छ। त्यसका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ। 

जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ।

काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, रुकुमपूर्वको पुथा उत्तरगंगा उपाध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र दैलेखको महाबु गाउँपालिका अध्यक्षका लागि उपचुनाव हुनेछ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि कास्की हुँदै रूपन्देही पुर्‍याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad