नेपाल सरकारका पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट रमाना बुझेको सोमबार एक साता पुगेको छ। राष्ट्रिय योजना आयोगमा उनका लागि विशेष अधिकृतको दरबन्दी सिर्जना गरी त्यहाँ सरुवा गरिएको छ। तर, अहिलेसम्म उनी आयोगको सचिवालयमा हाजिर भएका छैनन्।
उनी मुख्यसचिव पदमा बहाल रहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित भएका थिए। ३८ करोड घोटाला भएको भनिएको उक्त प्रकरणका ११ अभियुक्तमध्ये अर्याल नै सबैभन्दा उपल्ला अधिकारी थिए। सुरक्षण मुद्रण विकास समितिका अध्यक्ष छँदा अन्य सदस्यहरूलाई बैठकमै नबोलाई एकल निर्णयबाट खरिद प्रक्रियासम्बन्धी निर्णय गरेको उनीमाथि मुख्य अभियोग छ। विशेष अदालतले कात्तिक १४ गते दुईजना कर्मचारीलाई मात्र दोषी ठहर गरी अर्यालसहित ९ जनालाई सफाइ दिएको हो।
अदालतबाट सफाइ पाएको पत्र लिएर उनी कात्तिक २० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए। उनको दरबन्दी योजना आयोग सारेर नयाँ मुख्य सचिवमा एकनारायण अर्याललाई बढुवा गरिसकिएकाले उनले त्यहाँ हाजिर गर्न पाउने अवस्था थिएन। बरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई योजना आयोग जानका लागि रमानापत्र थमाइदियो।
पूर्वमुख्यसचिव अर्यालले प्रधानमन्त्री कार्यालयबाट बुझे रमाना
त्यस दिन रमाना बुझेर हिँडेका वैकुण्ठ अर्याल अहिलेसम्म योजना आयोग त पुगेका छैनन् नै, उनी कहाँ छन् भन्नेसमेत ती निकायहरूलाई जानकारी छैन। आयोगका प्रवक्ता यज्ञराज कोइरालाले नेपालखबरको जिज्ञासामा भने, ‘आजसम्म कार्यालयमा हाजिर हुनुभएको छैन। कहिले आउनुहुन्छ भन्ने जानकारी पनि छैन।’
उता प्रधानमन्त्री कार्यालयका अधिकारीहरू त्यहाँबाट रमाना भइसकेकोले आयोगमै जानकारी हुन सक्ने बताउँछन्। प्रधानमन्त्री कार्यालयका एक सचिव भन्छन्, ‘यहाँबाट रमाना बुझेर गइसक्नुभयो। अब बाँकी कुरा उहाँ सरुवा भई जाने कार्यालयमा नै होला।’
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुली भने रमाना बुझेपछि तत्कालै तोकिएको कार्यालयमा जानुपर्ने बताउँछन्। ‘टाढाको कुरा हो भने बाटाको म्याद पाइन्छ,’ उनी भन्छन्, ‘काठमाडौँभित्रै भए बाटाको म्याद हुँदैन।’
प्रधानमन्त्री कार्यालयदेखि योजना आयोगसम्मको दूरी जम्मा ६ सय मिटर छ।
कामै छैन आयोगमा
यसै पनि योजना आयोगमा खटिने कर्मचारी आफूलाई कामविहीन बनाउने गरी जगेडामा पठाइएको ठान्छन्। आयोगको सचिवका रूपमा काम गर्न मधुकुमार मरासिनी छन्। संयोग यस्तो छ कि मरासिनी पनि भ्रष्टाचार मुद्दा लागेर सुरू अदालतबाट भर्खर मात्र सफाइ पाएका हुन्।
सचिवस्तरको कर्मचारी हुँदाहुँदै त्यही ठाउँमा मुख्यसचिवस्तरका कर्मचारीले गर्ने कुनै काम छैन। त्यसैले उनले के काम गर्ने भन्नेबारे अहिलेसम्म आयोगमा छलफलसम्म भएको छैन। ‘सायद जगेडाका रूपमा हेरिएको होला,’ आयोगका एक अधिकारी भन्छन्।
ती अधिकारीले वैकुण्ठ अर्याल बिदा लिएर बसेको हुन सक्ने अनुमान पनि गरे। मुख्यसचिवस्तरका कर्मचारीको बिदा मन्त्रिपरिषद्ले स्वीकृत गर्छ।
वैकुण्ठ अर्याल र मधु मरासिनीले सुरु अदालतबाट सफाइ पाए पनि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने अख्तियारको तयारी छ। उसले अहिले विशेष अदातलको फैसलाको पूर्ण पाठको प्रतीक्षा गरिरहेको छ। वैकुण्ठ अर्यालमाथि थप प्रकरणमा पनि अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया