राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले रवि लामिछाने जिउँदो रहने बेलासम्म पार्टीमा अरु कोही सभापति नरहने दाबी गरेका छन्।
आइतबार पोखरामा सभापति लामिछाने पक्राउको विरोधमा आयोजित प्रदर्शनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो। यसमा कसले कार्यवाहक सभापति पाउँछ वा पाउँदैन भन्ने गौण कुरा हो, उपसभापति अर्यालले भने, ‘म विश्वस्त पार्न चाहन्छु, देभैभरका दिदीबहिनी, आमाबुवाबाट जसले रास्वपाबाट एउटा आस्था राख्नुभएको छ, आशा गर्नुभएको छ।’
हिरासत वा जेल जहाँ बसेपनि लामिछाने नै सभापति बनेर पार्टी नेतृत्व गर्ने उनको भनाइ थियो।
‘निरन्तर उहाँ जहाँ बस्नुहुन्छ, उहाँ हिरासतमा बस्नुहोला, उहाँ जेलमा बस्नुहोला, रास्वपाको सभापति रवि लामिछाने नै हो। रवि लामिछानेले नै रास्वपाको नेतृत्व गर्नुहुनेछ,’ उनले भने।
उनले संसारका कतिपय पार्टीका नेतृत्वकर्ताले जेलबाटै पार्टी निर्माण गरेको र निस्कनेबित्तिकै प्रधानमन्त्री बनेको इतिहास रहेको पनि जिकिर गरे।
‘संसारमा यस्ता पार्टीहरू छन्, जसले जेलमै बसेर पार्टी निर्माण गरेको र जेलबाट निस्किएको भोलिपल्ट प्रधानमन्त्री बनेको इतिहास छन्। हामी कहिल्यै पनि विचलित हुन हुँदैन,’ उपसभापति अर्यालले भने।
Shares

प्रतिक्रिया