राजनीति


सभापति रविलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न रास्वपाको माग

हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभएको जिकिर, विरोध प्रदर्शन जारी रहने
सभापति रविलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न रास्वपाको माग

फाइल तस्बिर: पोखराको प्रदर्शनमा रास्वपा सांसद सोबिता गौतमलगायत।


नेपालखबर
कात्तिक २१, २०८१ बुधबार ८:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारीको रकम अपचलन अभियोगमा पक्राउ गरिएका सभापति रवि लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न सम्बद्ध पक्षसँग माग गरेको छ। 

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले बुधबार बिहान विज्ञप्ति जारी गरी सभापति लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभएको जिकिर गरेका हुन्। तर एकपछि अर्को म्याद थप्दै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउने प्रयास भइरहेकोले त्यसप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन्। 

विज्ञप्तिमा उनले भनेका छन्, ‘हिरासत बाहिर रहेर पनि अनुसन्धान गर्न सकिने कानुनी प्रबन्ध कार्यान्वयनका लागि पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराउँछौँ।’

मंगलबार मात्र कास्की जिल्ला अदालतले रविविरुद्ध तेस्रोपटक ५ दिन म्याद थप गरेको छ। जसअनुसार प्रहरीले उनलाई अझै ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नेछ। 

रास्वपाका कार्यवाहक प्रवक्ता झाले सभापति लामिछानेको पक्राउको विरोध र सहकारीपीडितलाई न्याय माग गर्दै मंगलबार पोखरामा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै भर्त्सन गरेका छन्। 

उनले भनेका छन्, ‘रत्न चोक हुँदै वाइचोकमा भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनमा सहभागी १५ जनालाई गिरफ्तार गरियो।’ 

यस्तै उनले आन्दोलनको समाचार संकलनमा खटिएका पत्रकार राजकुमार माझीलगायतलाई प्रहरीले हातपात गर्नाका साथै सञ्चार सामग्री तोडफोडसमेत गरेको आरोप लगाउँदै विरोध जनाएका छन्। 

कार्यवाहक प्रवक्ता झाले संसदीय छानबिन समितिले अनुसन्धान गरी सहकारीको बचत अपचलनमा सभापति लामिछानेको संलग्नता नरहेको स्पष्ट पारेको दाबी गर्दै सरकारले सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाएको उल्लेख गरेका छन्। 

यसैबीच उनले आज अपराह्न ४ बजे पोखरालगायत देशका विभिन्न जिल्लामा रास्वपाको विरोध कार्यक्रम जारी रहने जानकारी पनि दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad