राजनीति


११ वर्षअघि प्रचण्डसँग भिडे, कांग्रेससँग टक्कर लिन कीर्तिपुरमा एमालेका मेयर उम्मेदवार बने

सुरेन्द्र मानन्धर भन्छन्– वडाध्यक्षहरू कांग्रेस, मेयर एमालेबाट हुँदा एकता झल्किन्छ
११ वर्षअघि प्रचण्डसँग भिडे, कांग्रेससँग टक्कर लिन कीर्तिपुरमा एमालेका मेयर उम्मेदवार बने

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार ११:८, काठमाडौँ

मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदका लागि नेकपा एमालेले डा सुरेन्द्र मानन्धरलाई अघि सार्दै छ।

एमालेको कीर्तिपुर नगर कमिटीले सर्वसम्मत रूपमा उनलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै चुनावी अभियान पनि सुरू गरिसकेको छ।

वाम वर्चस्वका कारण कुनै समय लाल किल्लाका रूपमा चिनिएको कीर्तिपुरमा गत स्थानीय निर्वाचनमा एमालेले नराम्रोसँग पराजय बेहोरेको थियो। यसपालि साख फर्काउने दाबीका साथ एमाले अपरीक्षित अनुहार लिएर मैदानमा उत्रिँदै छ।

सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भए पनि कीर्तिपुरको यो उपचुनावमा यी दुई दलबीच नै मुख्य प्रतिस्पर्धा हुने स्थानीयहरू बताउँछन्।

नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राध्यापक डाक्टर शिवशरण महर्जनलाई उमेदवार बनाउने निर्णय सोमबार गरेको छ। तर प्रमुख प्रतिद्वन्द्वी कांग्रेसले उम्मेदवार तय नगरिसकेकाले सम्भावित प्रतिस्पर्धा कस्तो हुनेछ भन्ने अहिले नै आकलन गर्न एमालेका लागि कठिन छ। तर, एमाले नेताहरूका अनुसार यो चुनावलाई प्रतिष्ठाका रूपमा लिएर उसले सम्पूर्ण शक्ति कीर्तिपुरमा लगाउँदै छ।

यसअघि गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा एमालेले इलाम-२ बाट प्रतिनिधि सभामा सुहाङ नेम्बाङलाई जिताएर आफ्नो सिट सुरक्षित गरेको थियो भने प्रदेश सभामा बझाङ-१ मा कांग्रेसको सिट खोस्न सफल भएको थियो।

कीर्तिपुरमा पनि एमाले विजयको झण्डा फहराउने उद्देश्यका साथ सर्वसम्मत उम्मेदवारको टुंगो लगाएर चुनावी अभियानमा होमिएको छ।

कांग्रेसलाई टक्कर दिन एमालेबाट मानन्धर
त्रिभुवन विश्वविद्यालयबाट संवैधानिक कानुनमा विद्यावारिधि गरेका मानन्धर वकालतसँगै विभिन्न कलेजमा कानुन विषय पढाउँछन्। न्याय सेवाका कर्मचारी र न्यायाधीशहरूलाई तालिम पनि दिन्छन्। संवैधानिक कानुनका विज्ञका रूपमा उनलाई राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्याय सेवा तालिम केन्द्रले निम्ता गरिरहन्छ।

काठमाडौँको कीर्तिपुरकै रैथाने भएकाले उनलाई आधारभूत आवश्यकतासँग खासै जुध्नुपरेन। त्यसैले उनले विद्यार्थीकालदेखि नै पढाइसँगै सामाजिक र राजनीतिक गतिविधिमा धेरै समय बिताए। कीर्तिपुरवासीसँग भिजेको बौद्धिक व्यक्तित्व भएका कारण यसपटकको चुनाव सहज हुने आकलन एमालेले गरेको छ।

२०४४ सालदेखि विद्यार्थी राजनीति हुँदै एमालेमा क्रियाशील भएका मानन्धर अहिलेसम्म कुनै राजकीय भूमिका वा सार्वजनिक पदमा पुगेका छैनन्। अपरीक्षित अनुहार भएकाले उनको नाम खासै कुनै विवादमा मुछिएको छैन। त्यसैले दलविशेषको अनुहार नभनी अन्य पार्टीको र स्वतन्त्र मत पनि उनले प्राप्त गर्न सक्ने बुझाइका आधारमा एमालेले उनलाई अघि सारेको हो।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौँ जिल्ला सचिव र बाग्मती अञ्चल संयोजकको भूमिका निर्वाह गरेका मानन्धर केन्द्रीय विदेश विभाग सदस्य र सांस्कृतिक विभाग प्रमुख पनि भए।

त्यसपछि उनी धेरै समय भूगोलको राजनीतिमा खटिए। एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य हुँदै उनी २०७१ को नवौँ महाधिवेशनबाट केन्द्रीय समिति सदस्य निर्वाचित भए। अहिले पनि उनी केन्द्रीय सदस्य र काठमाडौँको निर्वाचन क्षेत्र नं १० इन्चार्जको भूमिकामा छन्। त्यसैले उनलाई भूगोलमा भिजेको नेताका रूपमा एमालेभित्र चिनिन्छ।

त्यसो त २०७० सालमा दोस्रो संविधान सभाको निर्वाचन हुँदा डा मानन्धर पनि उम्मेदवार थिए। त्यतिखेर कांग्रेसका राजन केसी विजयी भए। उनी दोस्रो स्थानमा रहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो भएका थिए।

विद्यार्थी राजनीतिबाट उठेर केन्द्रीय सदस्यसम्म भएका उनी अब कीर्तिपुरको स्थानीय सरकार चलाउन कस्सिएका छन्। यो चुनाव जितेमा उनको पहिलो सार्वजनिक पद मात्र हुने छैन, कार्यक्षमताको समेत परीक्षण हुनेछ।

नेपाली कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका निवर्तमान प्रमुख राजकुमार नकर्मीको गत साउन ११ गते निधन भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो। २०७९ मा निर्वाचित सरकारको आधाभन्दा समय व्यतीत भइसकेकाले अब निर्वाचित हुने मेयरले करिब अढाई वर्ष स्थानीय सरकार सञ्चालन गर्न पाउनेछन्।

डा मानन्धर भन्छन्, ‘दुई वर्ष पनि काम गर्नका लागि पर्याप्त समय हो। यसका लागि केवल आँट, क्षमता र प्रतिबद्धता चाहिन्छ।’

२०७९ मा कीर्तिपुरको चुनावी नतिजा एमालेका लागि निकै अप्रिय रह्यो। प्रमुख र उपप्रमुख मात्र होइन, वडाध्यक्षको तहसम्म कुनै पनि जनप्रतिनिधि एमालेले जिताउन सकेन। १० मध्ये ९ वटा वडाको नेतृत्व कांग्रेसले जितेको थियो।

कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी हुँदा एमालेका केशरत्न वज्राचार्यले ५५०७ मत मात्र पाए। तेस्रो स्थानका माओवादीका शिवशरण महर्जनले ४०९० मत ल्याए। 

यो आकडा हेर्ने हो भने एमालेका लागि कीर्तिपुरमा सानो मेहनतले जित सम्भव छैन। तर त्यतिखेर केही आन्तरिक समस्या र पार्टी विभाजनको कारण एमालेले संगठनकै प्रतिबद्ध मत पनि प्राप्त गर्न नसकेको एमाले नेताहरूको बुझाइ छ।

यसपालि उम्मेदवारका हकमा नगर कमिटीबाट सर्वसम्मत निर्णय भएकाले प्रतिबद्ध र शुभेच्छुक मत एमालेमै खस्ने अपेक्षा नेताहरूले गरेका छन्।

कीर्तिपुरमा कांग्रेसले आफ्नो निख्खर भोटले मात्र जित्न नसक्ने एमालेको विश्लेषण छ। अघिल्लो चुनावमा तालमेल गरेका कारण कांग्रेसले आफ्नो पक्षमा नतिजा हात पार्न सकेको एमालेको बुझाइ छ। कीर्तिपुरको उपप्रमुखमा रूख चिन्ह लिएर जसपाकी शुभलक्ष्मी शाक्य उठेकी थिइन्। शाक्यले ८६ सय ६५ मत प्राप्त गर्दा एमालेकी बिन्दु महर्जनले ७२ सय ६ मत पाएकी थिइन्।

यसै आकडालाई आधार मानी एमालेले कीर्तिपुरमा कांग्रेसलाई टक्कर दिन सकिने ठानेको छ।

मेरो उम्मेदवारीमा उत्साह देखिएको छः डा मानन्धर
एमालेले उम्मेदवारी टुंग्याएर आफ्नो नाम आएपछि कीर्तिपुर नगरवासीमा बेग्लै उत्साह देखिएको डा मानन्धरको भनाइ छ।

‘हाम्रो संगठनको शक्ति कमजोर छैन। अभूतपूर्व आन्तरिक एकता पनि देखिएको छ,’ नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘साथै सानै उमेरदेखि कीर्तिपुरमा रगत, पसिना र मेहनत परेको छ। कीर्तिपुरलाई मैले कर्मथलो बनाएको छु। सुखदुःखमा समर्पित भएर लागेको छु। त्यसैले कीर्तिपुरवासीमा जित हुने गरी बेग्लै उत्साह प्रकट भएको पाएको छु।’

उनले एकपटक आफूलाई अवसर दिन मतदातासँग आग्रह पनि गरे। साथै कुनै दल नहेरी सबैलाई समेटेर लैजाने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

‘अहिले दलहरू मिल्नुपर्छ भन्ने राष्ट्रिय भाव देखिन्छ,’ उनले भने, ‘त्यसैले कीर्तिपुरबाट दलहरू मिलेर चलाऊ भन्ने सन्देश प्रवाह हुनेमा म विश्वस्त छु। उपमेयर जसपाबाट, धेरै वडाध्यक्षहरू कांग्रेसबाट र मेयर एमालेबाट हुँदा सामूहिकता र एकताको भाव झल्किनेछ।’

आफू निर्वाचित भएपछि कीर्तिपुरका खाल्डा पुर्नेदेखि सांस्कृतिक सहरका रूपमा विकास गर्न योजनाबद्धरूपमा लाग्ने उनले बताए।

‘कीर्तिपुर मौलिक सांस्कृतिक सम्पदा र ऐतिहासिक महत्त्व बोकेको सहर हो,’ उनले भने, ‘ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ उचाइमा लैजाने मेरो योजना छ। फोहोरमैला, सडकको अवस्था सबै सुधारेर शान्त अनि बस्नलायक नगर बनाउन लाग्नेछु।’

स्थानीय सरकारका प्रत्येक काममा जनताको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ।

‘जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो,’ डा मानन्धरको बुझाइ छ, ‘जनताको सक्रिय सहभागिताबिना स्थानीय सरकारका काम प्रभावकारी र दिगो बन्न सक्दैनन्। त्यसैले कीर्तिपुर रूपान्तरणका लागि जनसहभागितामा आधारित काम मेरो पहिलो प्राथमिकता हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad