राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा सुरेश आचार्य सिफारिस हुने भएका छन्।
आज बसेको सिफारिस समितिको बैठकमा यो समझदारी बनेको हो।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको सिफारिस समितको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बाला अधिकारी सदस्यका रूपमा उपस्थित थिए।
आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन्।
आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई सिफारिस गर्ने करिब टुंगो लागेको बैठकमा सहभागी स्रोतले जानकारी दिएको छ।
तर, सभामुख घिमिरेले भने राय परामर्शको क्रम जारी रहेकाले अन्तिम टुंगो नभइसकेको प्रतिक्रिया दिए।
नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘यी नाम पनि छलफलमा छन्। राय परामर्श जारी छ। भोलिसम्ममा केही नतिजा आउला।’
कात्तिक ७ गते आयोगको पदाधिकारी नियुक्ति सिफारिससम्बन्धी सचिवालयले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो।
सूचनामा दुवै पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरेको, आमसञ्चार, कानुन, न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेकोसहितका योग्यता तोकिएको थियो।
दरखास्त दिन कात्तिक १३ गतेसम्मको समय तोकिएको थियो।
आयोगमा एक प्रमुख सूचना आयुक्त र २ जना सूचना आयुक्त रहने कानुनी व्यवस्था छ। जसमा एकजना महिला अनिवार्य गरिएको छ।
यसअघिका दुई कार्यकालमा नेपाल सरकारका पूर्वसचिवलाई प्रमुख आयुक्त बनाइएको थियो।
Shares

प्रतिक्रिया