राजनीति


रविको रिहाइका लागि दबाब बढाउन अर्याल र वाग्लेको नेतृत्वमा रास्वपाले बनायो दुई समिति

प्रदेशसम्म आन्दोलन, जिल्ला भेला र उपचुनावको तयारी पनि गर्ने निर्णय
रविको रिहाइका लागि दबाब बढाउन अर्याल र वाग्लेको नेतृत्वमा रास्वपाले बनायो दुई समिति

नेपालखबर
कात्तिक १०, २०८१ शनिबार २१:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर हिरासतमा राखेको निष्कर्ष निकाल्दै सरकारसँग अविलम्ब चाँडो रिहाइको लागि माग गर्ने निर्णय गरेको छ। 

शनिबार पाार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोध त्यागेर सभापति लामिछानेलाई रिहाइको माग गर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। 

‘पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अबिलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग  गर्दछ,’ पार्टी निर्णयमा भनिएको छ। 

पार्टी सभापति लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेर प्रहरीले कास्की हिरासतमा राखेको छ। सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेको पक्राउविरुद्ध आफूहरूको आन्दोलन जारी राख्ने निर्णय भएको झाले बताएका छन्। 

‘राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने,’ निर्णयमा भनिएको छ।

त्यस्तै, पार्टीका उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने निर्णय पनि भएको छ। 

अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले भने राजनीतिक नागरिक संवाद गर्ने रास्वपाको निर्णय छ। 

‘सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने। आवश्यक उपसमितिहरु गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिने,’ निर्णयमा भनिएको छ। 

त्यस्तै, आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेस गर्न पनि निर्देशन बैठकले गरेको छ। 

‘पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरु, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने,’ अन्तिम निर्णयमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad