राजनीति


कांग्रेसले भन्यो–हुलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छ

कांग्रेसले भन्यो–हुलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छ

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १७:५२, काठमाडौँ

नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले गरिरहेको हुलहुज्जत र सडक प्रदर्शनले अनुसन्धानलाई प्रभावित गर्ने भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
 
कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सो पार्टीका सभापति लामिछानेका समर्थकहरुले राज्यका तटस्थ निकायहरुलाई आतंकित र त्रसित पारी अनुचित दबाब सिर्जना गरिरहेको उल्लेख गरेको छ।
 
राज्यका वैधानिक निकायबाट भइरहेको निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणलाई बाधा पुर्‍याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्तिसुरक्षामा समेत खलल पुर्‍याउने गतिविधिप्रति कांग्रेसले  विरोध जनाएको छ।
 
संसदीय छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएकाले सोही बमोजिम केही सहकारीको रकम अपचलन गरेको अभियोगमा गोर्खा मिडिया कम्पनीका सञ्चालकहरु जिबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेलाई उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ।

‘कुनै पनि कसुरमा आरोप लागेपछि वैधानिक निकायबाट गरिने अनुसन्धान, छानबिन र न्यायिक प्रक्रियालाई सहयोग पुर्‍याउनु प्रत्येक नागरिकको कर्तव्य हुन्छ भने राजनीतिक दलको झन् बढी जिम्मेवारी हुनु पर्दछ,’ प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘तर रास्वपाका नाममा भइरहेको गतिविधिहरुले विधिको शासन कायम गर्ने नेपाली जनताको चाहनालाई अवमूल्यन र उपहास गरेको छ।’
 
प्रचलित कानुनबमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि उनीहरुमाथि समान ढंगले अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ भन्ने मान्यताप्रति कांग्रेस प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad