राजनीति


इजलासको आदेश रजिस्ट्रारले रोके, रजिस्ट्रारको आदेशविरुद्धको निवेदन सर्वोच्चमा दरपीठ

इजलासको आदेश रजिस्ट्रारले रोके, रजिस्ट्रारको आदेशविरुद्धको निवेदन सर्वोच्चमा दरपीठ

दीपकराज जोशी र वैकुण्ठ न्यौपाने


नेपालखबर
कात्तिक ६, २०८१ मंगलबार १९:५४, काठमाडौँ

तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्न उच्च अदालतका दुई न्यायाधीशको इजलासले दिएको आदेश कार्यान्वयनमा रोक लगाउने रजिस्ट्रारको आदेशविरुद्ध सर्वोच्चमा दायर रिट दरपीठ भएको छ।

नगर प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको निवेदन सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेलले दरपीठ गरिदिएका हुन्।

यसअघि पोखरा उच्च अदालतका तत्कालीन रजिस्ट्रार अच्युत कुइँकेलले गत जेठ ३२ गते व्यास नगरपालिकाको पुनः मतगणना रोक्न आदेश दिएका थिए।

पोखरा उच्च अदालतकै दुई न्यायाधीशको इजलासले पुनः मतगणनाका लागि दिएको आदेश तत्काल कार्यान्वयन रोक्न भन्दै रजिस्ट्रारले अर्को आदेश जारी गरेपछि जोशी सर्वोच्च पुगेका थिए। तर, सर्वोच्च प्रशासनले उनको निवेदन दर्ता गर्न अस्वीकार गरिदिएको हो। 

 

गत जेठ १ गते व्यास नगरपालिकाको पुन: मतगणना गर्न उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले आदेश दिएको थियो।

निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ। असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै तिथिमिति तोकिदिएको थियो।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए।

हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले पुनः मतगणना रोक्न उच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमा मिलनकुमार राई र अमृतकुमार बस्नेतको इजलासले कुनै राय नदिएर रजिस्ट्रारलाई आवश्यक निकासा दिन भनेको थियो। त्यसपछि रजिस्ट्रार कुइँकेलले पुनः मतगणनाको तयारी स्थगित गर्न आदेश दिएका थिए।

जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २ सय ५२ मत अन्तरले पराजित भएका थिए। न्यौपानेले १२ हजार ७८ पाएका थिए भने र जोशीको पक्षमा ११ हजार ८ सय २६ मत देखिएको थियो। जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर  षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थिए।

सम्बन्धित खबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad