इजरायलका विदेशमन्त्री इजरायल काट्जले आफ्ना प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको घरमा भएको ड्रोन आक्रमणमा इरान संलग्न रहेको आरोप लगाएका छन्।
इजरायलका विदेशमन्त्री काट्जले सोसल मिडिया प्लेटफर्म एक्समा यस सम्बन्धमा पोस्ट गरेका छन्।
उनले आफ्नो पोस्टमा लेखेका छन्- संयुक्त राष्ट्र संघमा इरानी दूतावासले शनिबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको हत्याको प्रयासको जिम्मेवारी लिन अस्वीकार गरेको छ।
तर दूतावासले यसमा हिजबुल्लाहको हात रहेको दाबी गरेको उनले उल्लेख गरेका छन्।
इजरायल काट्जले इरानलाई आरोप लगाउदै भनेका छन्- हिजबुल्लाह एक मोहरा मात्र हो, जसलाई इरानले बनायो, आर्थिक, सशस्त्र, तालिम दियो र आफ्नो कामका लागि प्रयोग गर्यो। अब इरानले अचानक यसलाई स्वतन्त्र संस्था भनिरहेको छ। यो झूटले इरानलाई मद्दत गर्दैन।
शनिबार आफ्नो निवासमा भएको आक्रमणपछि इजरायलका प्रधानमन्त्री नेतन्याहुले आफूलाई कसैले रोक्न नसक्ने बताउँदै जित नहुँदासम्म हमासविरुद्धको युद्ध जारी रहने अडान व्यक्त गरेका छन्।
इजरायली सरकारका प्रवक्ताका अनुसार लेबनानले शनिबार गरेको ड्रोन आक्रमणमा नेतन्याहुको घरलाई निशाना बनाइएको थियो।
Shares

प्रतिक्रिया