राजनीति


सचिवालय बैठकमा ओली : सरकार ढाल्ने प्रयास हुँदैछ, सजग रहनुस्

सचिवालय बैठकमा ओली : सरकार ढाल्ने प्रयास हुँदैछ, सजग रहनुस्

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १९:५४, काठमाडौँ

प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन्।

सरकार ढल्ने अनुमान र हल्लाकाबीच आइतबार साँझ पार्टी कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा ओलीले त्यसबारे केहीबेर ब्रिफिङ गरे।

उनले राष्ट्रिय राजनीति पेचिलो बन्दै गएको स्वीकार गरे।

एक पदाधिकारीले नेपालखबरलाई बताएअनुसार ओलीले परिस्थिति निकै प्रतिकूल हुँदै गएकोले नेताहरूलाई सचेत समेत गराएका छन्।

‘परिस्थिति प्रतिकूल हुँदै गएको छ, सबैतिरबाट आक्रमण तीव्र पारेका छन्,’ बैठकमा ओलीको ब्रिफिङ उधृत गर्दै ती पदाधिकारीले भने, ‘राष्ट्रिय राजनीति अप्ठेरो छ। विभिन्न शक्तिकेन्द्रहरू लागिरहेका छन्।’

‘समग्रमा राष्ट्रिय राजनीतिको पछिल्लो अवस्थाबारे सचिवालय सदस्यलाई अध्यक्षले जानकारी गराउनुभयो,’ उनले थपे।

तर, सत्ताको प्रमुख घटक नेपाली कांग्रेससँगको सम्बन्ध सुमधुर रहेको प्रधानमन्त्री ओलीले प्रष्ट पारेको ती नेता बताउँछन्। 

‘कांग्रेससँगको सम्बन्धमा अहिले तलमाथि छैन, तर, सत्ताका विरुद्ध एकाथरी लागिरहेका छन्, यो गम्भीर विषय हो, यसमा सजग हुनैपर्छ,’ ओलीले बैठकमा भने। 

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार गिरफ्तार भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा उनका नेता/कार्यकर्ताले आन्दोलन चर्काउँदै लगेका छन्।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेले ओली सरकार नढलेसम्म सडकमा उत्रन देशैभरका कार्यकर्तालाई निर्देशन दिएका छन्। 

सरकारलाई चारैतिरबाट घेराबन्दी गरेर असफल पार्न खोजिएको ओलीको भनाइ छ।

‘स्थिति गम्भीर छ, पार्टीभित्रको आन्तरिक पंक्ति पनि अराजक हुँदै गयो,’ ओलीले बैठकमा राखेको भनाइ उधृत गर्दै ती नेताले भने।

असार ३० गते नेपाली कांग्रेससँगको गठबन्धनबाट ओली प्रधानमन्त्री बनेका थिए।

अर्का सचिवालय सदस्यले पनि देशको पछिल्लो अवस्था चिन्ताजनक अवस्थातिर लग्ने कोसिस भइरहेकोमा ओलीले जानकारी दिएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad