नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन्।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग शनिबार आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाई भएको बताए।
नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले सन् २०१९ को उनको भ्रमण ऐतिहासिक रहेको बताए। सो क्रममा धेरै समझदारी भएको उल्लेख गर्दै उनले उच्चस्तरीय भ्रमणका बेलामा भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
आफू गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा बेइजिङ ओलम्पिकको समापनमा र गत वर्ष पनि प्रधानमन्त्री हुँदा चीन भएको उल्लेख गर्दै उनले भने, ‘गत वर्ष मेरो भ्रमणमा धेरै विषयमा एमओयू भएका थिए र ऐतिहासिक महत्वको साझा विज्ञप्ति जारी गरेका थियौं। ती सबै समझदारी कार्यान्वयन गरेर जानुपर्छ भन्ने पक्षमा हामी दृढ छौं।’
नेपालको आन्तरिक राजनीतिमा केही उतारचढाव आए पनि आफ्नो पालामा दुई देशबीच भएका समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले चीन पनि यसमा प्रतिबद्ध रहने छ भन्ने आफ्नो विश्वास रहेको बताए। उनले चीन र नेपालबीचको भौगोलिक अवस्थित प्रतिकूल रहे पनि विज्ञान प्रविधिको उच्चतम प्रयोग गरे दुई देशीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए। उनले सिमानाकाहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने, रेलमार्ग निर्माणलाई अघि बढाउने, हवाई सेवा प्रभावकारी बनाउनेलगायत शिक्षा, स्वास्थ्य आदि विभिन्न क्षेत्रमा चीन सरकारको सहयोग नेपालले चाहेको बताए।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेर आएका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्गले दुई देशबीचको मित्रता अझै बढाउनुपर्ने बताए। पहिलोपटक नेपाल भ्रमणमा आएका उनले चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिनसक्ने बताए।
चीनले अन्य मुलुकसँग सहअस्तित्वमा आधारित सम्बन्ध विकास गर्दै आएको उल्लेख गर्दै सेक्रेटरी छेनले कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तर पार्टी–पार्टीबीचको सम्बन्धलाई भने महत्व दिने बताए।
भेटवार्तामा माओवादी केन्द्रको तर्फबाट बरिष्ठ उपाध्यक्ष नारायकणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो। चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं छिङहाई प्रान्तका सेक्रेटरी छेन् गाङ्ग, नेपालस्थित राजदूत छेन् सोङ्गलगायतको उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया