राजनीति


स्वर्णिम वाग्लेको आरोप– अहिलेको मन्त्रिपरिषद्‌मा भुटानी शरणार्थी प्रकरणका संगठित अपराधीहरू छन्

स्वर्णिम वाग्लेको आरोप– अहिलेको मन्त्रिपरिषद्‌मा भुटानी शरणार्थी प्रकरणका संगठित अपराधीहरू छन्

नेपालखबर
कात्तिक ३, २०८१ शनिबार १६:१६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठित अपाराधमा सहभागीहरू अहिलेको मन्त्रिपरिषद्‌मा रहेको आरोप लगाएका छन्।

शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपारधीहरू अहिलेको मन्त्रिपरिषद्‌मा रहेको भन्दै उनीहरूबाट ध्यान मोड्न पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको जिकिर गरे।

‘कुशासनको अभ्यास अहिले भइरहेको छ। संगठित अपराधीहरू अहिलेको मन्त्रिपरिषद्‌मा छन्। नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई बेच्ने संगठित अपराधीहरू अहिलेको मन्त्रिपरिषद्‌मा छन्। उनीहरूबाट ध्यान मोड्नका लागि यि कुराहरू भएका छन्,’ उनले भने।

वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै कसैलाई आफ्नो राजनीति जोगाउन रविलाई पक्राउ गर्न लगाएको आरोप समेत लगाए। महामन्त्री थापाले सहकारी छानबिन विशेष समिति बन्नुपूर्व लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको बताएका थिए।

संसदीय छानबिन विशेष समितिले पनि गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा विभिन्न सहकारीमार्फत रकम ल्याइ हिनामिना गरेको निष्कर्ष निकालेको थियो।

सहकारीको ८७ अर्ब भ्याउन, सहकारी डिभोर्स लुकाउन, गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनलाई रवि लामिछानेलाई पक्राउ गरिएको आरोप वाग्लेको छ।

‘कसैलाई आफ्नो राजनीति जोगाउन उसलाई सिध्याएरै छोड्नु थियो। कसैलाई सहकारीको ८७ अर्ब भ्याउनु थियो। कसैलाई सहकारी डिभोर्स लुकाउनु थियो। कसैलाई गिरिबन्धु र शरणार्थीको फाइल लुकाउनु थियो। कसैलाई ललितानिवासलाई दक्षिणमा बदलेर गोजी भर्नुथियो। कसैलाई लुटको रंगशालामा बाँचुन्जेल फुटबल हान्नुथियो। कसैलाई आफूसँगैको साथी माथि पुगेकोमा खुट्टा तान्नु थियो। मीनबहादुर गुरुङविरुद्धको मुद्दा केपी ओलीले अघि बढाउलान्, उनको सेटिङको लागि हो,’ वाग्लेले भने।

रास्वपा  सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई शुक्रवार पार्टी केन्द्रिय कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो।

सभापति पक्राउ पछि रास्वपाका नेता/कार्यकर्ताहरूले पक्राउ गरेकोमा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरिरहेका छन्। सभापति लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान हुनेछ।

लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रवन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ। 

सभापति लामिछानेलाई भोलि (आइतबार) अदालत उपस्थित गराइँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad