नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणको अनुसन्धानमा सघाउने विश्वास आफूले लिएको बताएका छन्।
शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले रवि स्वयंले यो विषय पार लगाउने विश्वास व्यक्त गरे।
‘जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभएपनि यो प्रक्रियाको निरुपणमा सघाउँछु भनिसक्नुभएकोले, यसलाई उहाँले पार लगाउनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने।
त्यस्तै, उनले लोकतन्त्र विधिको शासन भएको र यसमा पादरर्शिता आवश्यक रहेको जिकिर गरे।
‘लोकतन्त्र विधिको शासन हो। यहाँ पारदर्शिता हुनुपर्छ। ठूलो सानो जो भएपनि अन्याय हुन हुँदैन,’ भट्टराईले भने।
रास्वपा सभापति लामिछानेलाई शुक्रबार नै प्रहरीले काठमाडौँबाट पक्राउ गरेर पोखरा लगेको थियो। लगत्तै, शनिबार पोखरा पुगेका भट्टराईले संक्षिप्त रुपमा रविबारे धारणा राख्दै दोषी उम्कन नहुने र निर्दोषलाई कारबाही हुन नहुने बताए।
उनले अघि भने, ‘उहाँ वैकल्पिक नयाँ राष्ट्रिय पार्टी भनेर आउनुभएको छ। उहाँको सफल होस् भन्ने कामना गर्न चाहन्छु।’
Shares

प्रतिक्रिया