राष्ट्रिय स्वतन्त्र पाार्टी (रास्वपा) का सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई पक्राउ गरिएकोबारे नेपाल प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ।
हिजो (शुक्रबार) काठमाडौँबाट पक्राउ परेका सभापति लामिछानेलाई फौजदारी कसूरको अनुसन्धानका क्रममा प्रहरीले पक्राउ गरिएको जानकारी गराएको सभामुख घिमिरेको सचिवालयले जानकारी गराएको छ।
लामिछानेलाई प्रहरीले शुक्रबार राति नै जिल्ला प्रहरी कार्यालय, कास्की लगेर हिरासतमा राखेको छ।
प्रतिनिधिसभा सदस्यलाई पक्राउ गरेपछि सभामुखलाई जानकारी गराउनुपर्ने प्रावधान अनुसार प्रहरीले जानकारी गराएको हो।
रवि चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्।
‘चितवन जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य रबि लामिछानेलाई कास्की जिल्ला अदालतको मिति २०८१/०७/०२ गतेको पक्राउ अनुमति बमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएकोले नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जानकारी गराइएको भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारवाही शाखाको प.सं. २०८१/०८२ च.नं ७०२७ मिति २०८१/०७/०२ गतेको पत्रबाट सम्माननीय सभामुखज्यूलाई लेखी आएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छ,’ संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार रविलाई पक्राउ गरेको थियो।
राति नै स्थलमार्गबाट पोखरा पुर्याएर प्रहरीले अहिले उनलाई हिरासतमा राखेको छ। प्रहरी हिरासतमा रवि पुग्नुअघि नै समर्थकहरू प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शनमा उत्रिसकेका थिए।
शनिबार पोखरामा रास्वपाका शीर्ष नेतासहितको उपस्थितिमा प्रदर्शन भइरहेको छ। सभापति रवि लामिछानेलाई भोलि (आइतबार) अदालत उपस्थित गराइँदैछ।
Shares

प्रतिक्रिया