सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे कानुनअनुसार नै कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन्।
बिहीबार साँझ बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रविबारे प्रश्न गरेका थिए। उनको प्रश्नको जवाफमा प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ थियो- जे गर्छ, कानुनले नै गर्छ।
गत असोज ६ गते रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडे पक्राउ परेपछि रास्वपाभित्र रवि पनि पक्राउ पर्न सक्ने आशंका छ। सोही दिन पनि रवि पक्राउ पर्न सक्ने देखिएपछि रास्वपा कार्यालयमा कार्यकर्ताको ठूलो भिड लागेको थियो।
तर, त्यतिबेला सो प्रकरण आफैँ सेलायो। त्यतिबेला प्रधानमन्त्री ओली अमेरिकामा थिए। रवि पक्राउ हुन सक्ने डर त्यतिकै टर्यो।
बिहीबार प्रचण्डले बालुवाटारमा रविबारे प्रश्न गरेपछि लगत्तै शुक्रबार बिहान बसेको विपक्षी दलको बैठकमा पनि यो विषयले प्रवेश पायो।
बालुवाटार बैठकको ब्रिफिङ सुनाउँदै प्रचण्डले रविविरुद्ध सरकारले ‘एक्सन’ लिन सक्ने बताएका थिए। रास्वपाले पनि रविको बचाउका लागि विपक्षी दलहरूको साथ खोजेको देखिन्थ्यो। किनभने, त्यहाँ अन्य दलका एक वा दुई जना मात्र सहभागी भएकामा रास्वपाका सभापति लामिछाने, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम लाग्लेसहित ६ जना सहभागी थिए।
प्रचण्डको फोनले झुक्किए महन्थ, सत्तापक्षमा खैलाबैला
विपक्षी दलको बैठकमा सहभागी रास्वपाका एक नेताले नेपालखबरसँग भने, ‘हिजो (बिहीबार) कै बैठकमा प्रचण्डले ओलीलाई सोध्नुभएको रहेछ, ओलीले भनेको कुरालाई विश्लेषण गरेर प्रचण्डले आज ब्रिफिङ गर्नुभएको हो।’
ती नेताका अनुसार, शीर्ष नेताहरूको बैठकमा प्रचण्डले अहिले एउटा व्यक्तिमा मात्रै केन्द्रित रहेर कारबाही प्रक्रिया अघि बढाउन नहुने बताएका थिए।
तर प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिले प्रतिवेदन तयार पारिसकेको र कार्यान्वयनका लागि सम्बन्धित निकायले काम सुरु गरिसकेको भन्दै कानुनअनुसार नै हुने बताए।
प्रचण्डले भने चेतावनीको भाषामा व्यक्तिकेन्द्रित भएर कारबाही थाल्दा समस्या हुन सक्ने बताएका थिए।
जुन विषयको ब्रिफिङमा प्रचण्डले शुक्रबार बैठकमा भने, ‘केपीजीको मुड बुझ्न सकिँदैन। तर, मैले सोधेको प्रश्नको जवाफ सुन्दा जे पनि हुन सक्छ।’
यस विषयमा शुक्रबार रास्वपा सांसद विराजभक्त श्रेष्ठले पनि बोलेका छन्। विपक्षी दलको बैठकबाट निस्किएपछि उनले भने, ‘हाम्रो सभापति (रवि लामिछाने)ले राज्यको दुरुपयोग गरेर पूर्वाग्रहचाहिँ म स्वीकार्दिनँ तर त्यहाँ सघाउने कुरामा सहयोगी नै छु भन्नुभएको छ। कतिखेर समाउँदा ठिक हुन्छ भनेर ग्रहदशा पनि हेर्ने बानी छ।’
हेर्नुहोस् भिडिओ :
त्यस्तै, बैठकमै सहभागी भएका एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पनि गल्ती हो वा होइन भन्ने स्पष्ट नभएर त्यस्ता गतिविधि भए स्वीकार्य नहुने बताएका छन्।
‘अदालतले विभिन्न निकायले के भनेका छन्, त्यसमा भर पर्ने कुरा हो। गल्ती गर्नेलाई कारबाही गर्ने कुरामा विरोध हुँदैन। तर, गल्ती नगरिकन गल्ती गरेकै हो भनेर त्यस्तो गतिविधि गरेर पार्टीबीच समस्या निकाल्न थालियो भने राम्रो हुँदैन,’ पाण्डेले भने।
Shares

प्रतिक्रिया