राजनीति


रास्वपा पदाधिकारीमा उठ्न अनुशासन आयोगबाट यज्ञमणिको राजीनामा

रास्वपा पदाधिकारीमा उठ्न अनुशासन आयोगबाट यज्ञमणिको राजीनामा

नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १४:२७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्दैछ। गत असोज १ र २ गते बसेको राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको थियो। 

सोही अनुसार रास्वपाले महाधिवेशको तयारी थालेको छ। २०७९ असार ७ गते स्थापना भएको रास्वपाले गर्न लागेको पहिलो महाधिवेशनले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म चयन गर्नेछ। 

यसैबीच पार्टी अनुशासन आयोगका उपप्रमुख समेत रहेका कानुन व्यवसायी यज्ञमणि न्यौपानेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। 

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, विधान अनुसार कुनै पदमा इच्छुक व्यक्तिले ६ महिनाअघि नै राजीनामा गरेर कुलिङ पिरियडमा बस्नुपर्ने प्रावधानलाई ध्यानमा राखेर न्यौपानेले राजीनामा दिएका हुन्। 

पार्टी नेतृत्वसँगकै छलफलका आधारमा उनको राजीनामा समेत स्वीकृत भएको झाले बताए। 

‘महाधिवेशनमा उहाँ (यज्ञमणी पौडेल)ले कुनै पदमा अपेक्षित हुनसक्छु भनेर कुलिङ पिरियडको लागि राजीनामा दिनुभएको हो,’ झाले नेपालखबरसँग भने। 

त्यसोत, न्यौपाने कुन पदका आकांक्षी हुन भनेर झाले खुलाएनन्। यसबारे न्यौपानेले पनि खुलेर बोल्न चाहेनन्। 

तर, उनले आफू पार्टीको पदाधिकारीमै लड्नका लागि अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा दिएको भने स्वीकार गरे। 

‘राजीनामा दिएको हुँ। पार्टीमा काम गर्ने हो। म पदाधिकारीमै उठ्छु,’ न्यौपानेले नेपालखबरसँग भने। 

सभापति र उपसभापतिको आकांक्षी आफू नभएको र अन्य पदबारे विस्तारै छलफल हुने उनले बताएका छन्।

रास्वपाले राष्ट्रिय भेलाबाट विधान संशोधनसमेत गराएको थियो। संशोधित विधान हाल निर्वाचन आयोगमा पठाइएको नेताहरूले बताएका छन्।

विधानतः पार्टीमा ६ हजारको हाराहारीमा महाधिवेशन प्रतिनिधि आउनेछन्।

पालिका तहबाट सभापति वा तोकिएको व्यक्ति अनिवार्य महाधिवेशन प्रतिनिधिका रुपमा आउनेछन्। 

यस्तै‚ गाउँपालिकाबाट १‚ नगरपालिका बाट २ जना‚ उपमहानगर पालिकाबाट ३ र महानगर पालिकाबाट ४ जना गरी पालिका अधिवेशनले तोकेको व्यक्ति महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था विधानमा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad