नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन्।
पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने बताउँदै उनले यसबारे नागरिक पंक्तिमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने बताए।
‘राजनीतिक दलले आफ्नो कार्यालय भवन आफू बनाउने हो, सबैको साथ लिएर, सबैको मन गाँसेर बनाउने हो। राज्य र निजी क्षेत्रको सहकार्यबाट निजी क्षेत्रले गर्नसक्ने धेरै काम छन्, जुन कर्म गर्नका लागि राज्यले प्रोत्साहित गर्ने हो। त्यो गर्नु पर्दथ्यो। जे भएको छ, आलोच्य भएको छ,’ शर्माले भने, ‘त्यसैले यस्तो हुँदै गर्दा दलभित्रै गम्भीर छलफल हुनुपर्ने, सबैलाई विश्वासमा लिनुपर्ने, यसको गलत सन्देश जानु नपर्ने, कुनैपनि मुद्दाको सन्दर्भमा गाँसिएर यसले प्रश्न उब्जिने अवस्था आउनु नपर्ने कर्तव्य एमाले पार्टीको थियो।’
साथै, उनले प्रधानमन्त्रीले शिलान्यासपछि मौन बसेको प्रसंग झिक्दै त्यसबारे बोल्नुपर्ने बताए।
‘यसमा सबैभन्दा बढी जिम्मेवारी सम्माननीय प्रधानमन्त्रीको थियो। सम्माननीय प्रधानमन्त्रीज्युले शिलान्यास गरिसक्नुभयो। त्यसपछि मौन हुनुहुन्छ। उहाँले यसबारेमा नागरिक पंक्तिलाई स्पष्ट गर्नुपर्छ,’ शर्माले भनेका छन्।
व्यवसायीहरूले राजनीतिक दललाई सानो सहयोग गर्नेकुरा राम्रो भएपनि एक अर्ब भन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको शर्माले उल्लेख गरे।
राजनीतिक दल र निजी क्षेत्रबीचको सम्बन्धको सीमानाका बारेमा सोच्नैपर्ने अवस्था देखिएको बताउँदै उनले पार्टी कार्यालय निर्माणका लागि ठूलो रकमको विषय आउँदा स्वभाविक रुपमा एमाले, एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङले जवाफ दिनुपर्ने दायित्व रहेको पनि बताए।
Shares

प्रतिक्रिया