राजनीति


राष्ट्रिय सभाध्यक्षले गरे आईपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट

राष्ट्रिय सभाध्यक्षले गरे आईपीयू अध्यक्ष र महासचिवसँग शिष्टाचार भेट

नेपालखबर
असोज २९, २०८१ मंगलबार १३:५८, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गगरेका छन्। 

भेटमा नेपालको संघीय संसद् र अन्तर-व्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिकालगायत विषयमा कुराकानी भयो। 

भेटमा अध्यक्ष दाहालले आईपीयूका विभिन्न सभा तथा कार्यक्रमले लोकतन्त्र, मानवअधिकार, लैंगिक समानता, युवा सशक्तीकरण, दिगो विकासलगायत सवालमा संवाद, सहकार्य र असल अभ्यास आदानप्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताए।

अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिष्कृत गर्न र लोकतान्त्रिक संस्था थप सुदृढ गर्न अन्तर-व्यवस्थापिका संघसँग आफूहरूले बलियो र घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको बताए। सो अवसरमा उनले आईपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गरे। 

संविधानसभाबाट जारी संविधानमार्फत नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसदमा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिला  जनप्रतिनिधिका रूपमा सहभागी रहेको जानकारी गराए। 

जनप्रतिनिधिमार्फत विश्वभरका मानिसले अनुभूत गरेका आवश्यकता, आकांक्षा एवम् समस्या अभिव्यक्त गर्न सकिने साझा मञ्चका रूपमा अन्तर-व्यवस्थापिका संघलाई आफूले बुझेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसको गरिमा र महत्त्व विश्वमा झन् बढ्दै गइरहेको बताए। 

सो अवसरमा अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सनले नेपालले विगतदेखि नै आईपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गरिन्। नेपालको संसद्‌मा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको धारणा राख्दै उनले समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताइन्। 

आईपीयूको सचिवालयलाई अझै व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आईपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने वाचा गरिन्। 

भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूको पनि सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad