भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउने तयारी भइरहेको बताएका छन्।
चितवन अटोमोबाइल डिलर्स एशोसिएसनले यहाँ आजदेखि आयोजना गरेको पहिलो ‘काडा अटो एक्स्पो’ को उद्घाटन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरेर ठूलो चार्जिङ स्टेशन बनाउन लागेको बताए।
महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका–३ नगरवनको छेउमा अटोल्याण्ड बनाउन लागिएकोमा स्थानीयले नबुझेर अवरोध गरेको बताए। ‘सरोकारवालाहरुले अग्रसरता देखाएर काम गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भने।
एशोसिएसनले पहिलो पटक सबैको साथ र सहयोगबाट चितवनमै यो कार्यक्रम गर्न सफल भएको बताए।
एक्स्पोमा २८ वटा स्टल रहेका छन्। ती स्टलमा २५ भन्दा बढी कम्पनीका कार, जीप, मोटरसाइकललगायत सवारीसाधन रहेका छन्।
यही असोज १९ गतेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ८० प्रतिशत विद्युतीय सवारीसाधन रहने छन्। एशोसिएसनले यसअघि भुटान र भारतसम्म मोटर र्याली, देवघाट हलेसी माउन्ट एभरेष्ट र्याली, मोटर जिमखाना जस्ता कार्यक्रम गरिसकेको छ।
Shares

प्रतिक्रिया