ad ad

राजनीति


प्रतिनिधि सभा बैठक एक घण्टा सर्‍यो, माओवादी छलफलमा

प्रतिनिधि सभा बैठक एक घण्टा सर्‍यो, माओवादी छलफलमा

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १३:३४, काठमाडौँ

राष्ट्रिय दलका सचेतक र प्रमुख सचेतकसँगको छलफल निष्कर्षविहीन भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक १ घण्टाका लागि सारेका छन्। 

सिंहदरबारमा बोलाइएको बैठकमा भएका छलफलबारे नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल गरेर जानकारी गराउने भनेपछि बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो। 

यसअघि आजको बैठक १ बजेका लागि बोलाइएको थियो। 

यही भदौ १२ गते प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले प्रयोग गरेको ‘माओवादीको सशस्त्र हिंसा’ शब्द संसदीय रेकर्डबाट नहटाएसम्म संसद् बैठक चल्न नदिने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र छ। 

सोहीबारे सभामुखले छलफल गरेका थिए। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार, माओवादीले पार्टीमा छलफल गर्ने भनेपछि संसद् बैठक १ घण्टा सारिएको हो।

बैठक सारेर अहिले माओवादी केन्द्रका सांसदहरू आन्तरिक छलफलमा जुटेका छन्। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पनि छलफल भइरहेको बताए। 

गत भदौ २६ गते बसेको प्रतिनिधिसभा बैठकमा ‘हिंसा’ शब्द यसअघि पनि प्रयोग भएको उल्लेख गर्दै यो असंसदीय नभएको निर्णय सुनाएपछि माओवादी सांसदले बैठक अवरुद्ध गरेका थिए।

यसपछि भदौ २८ गते बसेको माओवादी संसदीय दलको बैठकले  ‘माओवादी जनयुद्ध’लाई अपमान गर्न खोजिएको ठहर गर्दै सभामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएको भन्ने निर्णय नसच्याएसम्म बैठक चल्न नदिने निर्णय गरेको छ। 

तर सभामुख घिमिरेले उक्त निर्णय प्रतिनिधि सभा नियमावलीको नियम २१ र २६ हेरेर गरेको जिकिर गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .