ad ad

राजनीति


योगेश भट्टराईले संसद्‌मा बोलेको ‘हिंसा’ शब्द रेकर्डबाट हटाइएन

योगेश भट्टराईले संसद्‌मा बोलेको ‘हिंसा’ शब्द रेकर्डबाट हटाइएन

नेपालखबर
भदौ २६, २०८१ बुधबार १४:१३, काठमाडौँ

नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाइने भएको छ। 

बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली र कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफलपछि उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने जानकारी गराए। 

भट्टराईले उक्त शब्द प्रयोग गरेपछि भदौ १२ गतेको बैठकमा केहीबेर माओवादी र नेकपा एमालेका सांसदहरूबीच जुहारी चलेको थियो।

योगेशले पटक पटक जनयुद्धलाई हिंसा नै हो भनेपछि माओवादी केन्द्रका सांसदहरू हितराज पाण्डे, माधव सापकोटा सुबोध लगायतले आपत्ति जनाएका थिए। 

सो विषयमा छानबिन गर्न सोही दिनको बैठकमा सभामुख घिमिरेले निर्देशन समेत दिएका थिए। 

‘२०८१ साल भदौ १२ गतेको प्रतिनिधिसभाको बैठकमा माननीय योगेश भट्टराईले विशेष समयमा बोल्ने क्रममा हिंसा भन्ने शब्द प्रयोग गर्नुभएकोमा सो शब्द असंसदीय रहेकोले संसद्को रेकर्डबाट हटाइयोस् भनी नेपाल कम्युुनिस्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहितका सदस्यहरूले विषय उठान गर्नुभएकोमा, प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ मा भएको व्यवस्था, भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको रायसमेतको आधारमा विषय प्रसंग र प्रस्तुतीलाई विचार गर्दा उक्त शब्द असंसदीय नदेखिएको हुनाले संसद्को रेकर्डबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछु,’ बुधबारको बैठकमा सभामुख घिमिरेले भने। 

सभामुखले उक्त शब्द रेकर्डबाट नहट्ने बताएपछि माओवादी सचेतक पाण्डेले आज पनि आपत्ति जनाए।

‘हाम्रो देशको सबैभन्दा मूल कानुन भनेको संविधान हो। संविधानमा नै जनयुद्ध, जनआन्दोलन लगायतको व्याख्या गरिएको छ। प्रस्तावनामा नै जसरी व्याख्या गरिएको छ,,’ उनले भने, ‘हिंसाको विषयवस्तु आएको छ यो कानुन विपरित छ। संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हा?’

पाण्डेको प्रतिवादमा उत्रिएका एमाले सांसद रघुजी पन्तले भने यसअघि पनि पटक पटक संसद्मा यो शब्द प्रयोग भएको भन्दै बचाउ गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .