प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षा गरेअनुसार नै सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि बिहीबार बिहान कालो चिया पिएका ओलीलाई दिउँसो पनि तरल पदार्थहरु खान दिइएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशन प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिए।
बिहीबार अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थबारे जनाकारी गराउँदै उनले भने, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखियो। प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा काम गर्न थालेको छ।’
प्राडा खड्गाले प्रधानमन्त्री ओलीको पछिल्ला सबै रिपोर्टहरु सामान्य अवस्थामा रहेको बताए। उनले प्रधानमन्त्रीलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको बताए।
त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदानगर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्यस्थिति सामान्य रहेको र उनलाई पनि तरल र नरम आहार दिन सुरु गरिएको बताए।
उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका उपाध्यक्ष वामदेव गौतम, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका उच्च पदस्थ व्यक्तित्वहरु शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न भने दिइएको छैन्।
हाल प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएको थिए। उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्।

Shares

प्रतिक्रिया