अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट जुनीचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी र वडा नं. ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
अध्यक्ष केसी र वडाध्यक्ष शाहीले सडक निर्माणकार्यमा कमिसनबापत रकमको लागि बार्गेनिङ गर्दै साढे २५ लाख घुस लिएकोले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
दुवैले मिलेमतो गरी पैसा बैंकमा जम्मा गर्न लगाएका थिए। साथै विभिन्न होटलमा तिर्ने र गाडी रिजर्भको भाडा समेत तिर्न लगाएर विभिन्न बहानामा उक्त रकम घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
भ्रष्टाचार पुष्टि भएसँगै उनीहरुविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो। घुस लिएको रकमबराबरकै बिगो कायम गरी अख्तियारले जरिवाना र कैद सजाय मागदाबी गरेको छ।
८ लाखकाे अर्काे मुद्दा
यसैबीच, अध्यक्ष केसीविरुद्ध अख्तियारले अर्को पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। केसी र चन्द्रबहादुर बस्नेतसमेतलाई आयोगको सुर्खेतबाट गएको टोलीले ८ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको क्रममा अध्यक्ष केसी र जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतले एक आपसमा मिलेर वडा ५ मा उपभोक्ता समितिले गरेको सडक निर्माणपछि भुक्तानीमा सहजीकरण गरिदिन ८ लाख लिएका थिए। रकम लिएलगत्तै दुवै जना पक्राउ परेका थिए। दुवै जनाविरुद्ध आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
Shares

प्रतिक्रिया