ad ad

राजनीति


संसद्‌मा प्रचण्ड गर्जन: सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छ

‘ओली जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिंगो देश स्तब्ध भयो’
संसद्‌मा प्रचण्ड गर्जन: सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छ

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १४:२६, काठमाडौँ

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरू अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको आरोप लगाएका छन्। 

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न काण्डमा एकअर्कालाई जोगाउन र उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको बताए। 

‘यो सम्मानित संसद्‌मा मेरो पछिल्लो सम्बोधनमा यही रोस्टममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ- सरकारको पछाडि बिचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ। त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो- सरकारले केही दिन त संकोच मान्नेछ। केही दिन त लाज मान्नेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, सरकार यति हतारमा देखियो कि  बिरालोले म्याउँ गर्न एक हप्ता पनि लागेन। लोडसेडिङको बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोस्टममा उभिनुभयो। कडा रूपमा उभिनुभयो। तर, जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिंगो देश स्तब्ध भयो।’

 यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेग रोक्न, आफू र आफ्ना जोगाउन र जोगिन बनेको जिकिर गर्दै उनले भने, ‘तैपनि मलाई लागेको थियो, कम्तीमा भुटानी शरणार्थी प्रकरणमा केही दिन त सरकारले यताउती अलमल्याउला, अनुसन्धान भइरहेको भान देला, जनतासँग अलिअलि डराउला। तर, यहाँ पनि दुईतिहाइको बलियो सरकारले बल देखाउन सात दिन पनि पर्खेन।’

भुटानी शरणार्थी काण्डको राजनीतिक कडीमा प्रवेश गरेका प्रहरीका विशेष ब्युरो प्रमुखको सरुवालाई गम्भीर घटनाका रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले सोधे, ‘हिजोको सरकारले भुटानी शरणार्थी, बाँसवारी, बालमन्दिरलगायतका थुप्रै काण्डको सफल छानबिन गर्दै थियो। नयाँ सरकार आयो र के गर्‍यो? हिजो ती काण्डको छानबिन गरिरहेका प्रहरी अधिकृतमाथि नै छानबिन सुरु गर्‍यो। यसरी हुन्छ- दुईतिहाइको सुशासन?’

विभिन्न काण्डमा परेकालाई उन्मुक्ति दिन मिल्ने सामान्य अपराध नभएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय जगत्‌मै नेपालको कानुनी, नैतिक, राजनीतिक र सामाजिक प्रतिष्ठा धुलोपीठो भएको दाबी गरे।

‘यस्तो निर्लज्ज र निकृष्ट घटनाको अनुसन्धान गरिरहेका क्षमतावान् र  साहसी प्रहरी अधिकृतहरूलाई पुरस्कार होइन, उल्टो सरुवा र छानबिन गरेर बाँकी विश्वलाई के सन्देश दिँदै हुनुहुन्छ तपाईंहरु, अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय समुदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा पनि यो तहको निर्लज्जताले कहाँ पुग्छ देशको प्रतिष्ठा?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .