ad ad

राजनीति


पार्टीभित्र घेरामा परेपछि प्रचण्डले भने– मलाई अब अध्यक्ष भइराख्नु पर्दैन, अध्यक्षभन्दा प्रचण्ड माथि भइसक्यो

पार्टीभित्र घेरामा परेपछि प्रचण्डले भने– मलाई अब अध्यक्ष भइराख्नु पर्दैन, अध्यक्षभन्दा प्रचण्ड माथि भइसक्यो

सागर न्यौपाने
भदौ ६, २०८१ बिहिबार २१:३४, काठमाडौँ

नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ तरिकाले पार्टी चलाउन नेताहरूले दबाब दिएका छन्।

अहिले पार्टी सञ्चालन विधि राम्रो नभएको भन्दै केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीहरूले तत्काल रणनीति फेर्न, नभए नेतृत्वकै विषयमा सोच्न सुझाव दिएका छन्।

बागमती प्रदेश परामर्श समितिको बुधबार र बिहीबार बसेको बैठकमा ८२ जना नेताले धारणा राखेका थिए। बोल्ने अधिकांश नेताले प्रचण्डको विकल्प खोज्न नहुने बताए पनि पार्टी संगठन र सञ्चालनको शैली हुँदै नभएको बताए।

केही नेताहरूले उपमहासचिव जनार्दन शर्माले अघि सारेको प्रस्तावलाई समर्थन गर्दै धारणा राखेका थिए। शर्माले साउन २६ गतेको स्थायी समिति बैठकमा माओवादीभित्रको समस्या, पार्टी निर्माण लगायत विषयमा १२ पृष्ठको प्रस्ताव पेस गरेका थिए। 

शर्माकै प्रस्ताव आएपछि माओवादीले प्रदेशमा रहेका केन्द्रीय सदस्य र पदाधिकारीसँग बैठक राखेर धारणा बुझ्न खोजेको हो। तर, कतिपय नेताहरू शर्माको पक्षमा उभिएका छन्।

बोल्ने धेरै नेताहरूले प्रचण्डको सचिवालयप्रति प्रश्न उठाएका छन्। बागमती प्रदेश परामर्श समिति बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी समेत गरी १२० जना सहभागी थिए।  सबैलाई बोल्नको लागि ५ मिनेटको समय दिइएको थियो।

‘प्रचण्डले मार्गप्रशस्त गर्नुपर्छ’
केन्द्रीय सदस्य हिरानाथ खतिवडाले पार्टी बन्ने छाँटकाँट नदेखिएको बताए।

‘किनकि पार्टी विधिबाट चलेन,’ उनले बैठकमा भने,  ‘०६४ सम्म क्रान्तिकारी प्रचण्ड, त्यसपछि सरकारमा गयौँ, विष्णुमती वागमती जस्तै फोहोरमा नुहायौँ।’

उपमहासचिव शर्माले अघि सारेको तत्काल महाधिवेशनको प्रस्तावमा उनले समर्थन जनाए। 

‘छिटोभन्दा छिटो महाधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गरौँ। लोकतान्त्रिक विधिबाट नयाँ आउने वातावरण बनाऔँ,’ उनले थपे, ‘प्रचण्डले मार्गप्रशस्त गर्नुपर्छ। प्रचण्ड हैन, पार्टी बलियो बनाउने कुरा गरौँ।’ 

तर, केन्द्रीय सदस्य पदमा राईले खतिवडाको प्रस्ताव खण्डन गर्दै प्रचण्डको विकल्प नभएको बताइन्।

‘नेतृत्व फेर्ने कुरा आवश्यक होइन। आफ्नो वर्ग समेट्न अभियान सञ्चालन गर्नुपर्छ,’ उनले भनिन्। 

अर्की नेतृ सुशीला पौडेलले प्रचण्ड र जनार्दनबीच चलेको संघर्षप्रति आपत्ति जनाइन।

‘नेताहरू माथि कुस्ती खेल्ने, हामी त्राहिमाम हुनुपर्ने स्थिति आयो,’ उनले भनिन्, ‘कार्यकर्तासँग प्रचण्ड कार्यक्रम राखेर एउटा अभियान चलाऔँ। केन्द्रीय सदस्यहरूको सम्पत्ति छानबिन गरी दोषी भेटिए कारबाही गरौँ। १ प्रतिशत सम्पत्ति पार्टीलाई बुझाऔँ।’ 

ललितपुर इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य हरि दाहालले पार्टी बनाउने अवसरमा यस्तो बहसले सहयोग नगर्ने भन्दै जनतामा जाने कार्यक्रम बनाउन सुझाव दिए।

‘विषयवस्तुलाई सिद्धान्त, विचार र व्यवहारसँग जोडेर हेर्न जरुरी छ, बहस गर्ने तर निक्र्याैल ननिकाल्ने ठिक हुन्न,’ दाहालले भने, ‘प्राविधिक कुरामा अल्झिने कुरा ठिक भएन।’

तर, अर्का नेता अनिल शर्माले उपमहासचिवको प्रस्तावमा सबैतिर छलफल चलाउन आग्रह गरे।

‘हामी आज बिरामी छौँ, अब झारफुकबाट हुँदैन,’ अनिलको भनाइ उधृत गर्दै एक नेताले नेपालखबरसँग भने, ‘सबै कुरा सिद्धिएपछि बहस गरेर हुँदैन। नेतृत्वको विकल्प छ। विचारका दृष्टिले अविकसित, राजनीतिका दृष्टिले अस्थिर र अविश्वसनीय र आर्थिक रूपले भ्रष्ट र नैतिक रूपले विचलित भएर पार्टी बन्दैन, चल्दैन।’

केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले पार्टीभित्रको समस्या टालटुल नगर्न चेतावनी दिए।

‘प्रश्न उठायो भने न्याँक्ने? एकता, संघर्ष र रूपान्तरणको नियम भनेको के हो?’ मल्लले प्रश्न गरे, ‘युवा भनेको छ तर बुद्धिमान युवा चाहिन्न? नेता भनेको के हो? समस्या हल नगरी नेता हुन्छ ? पेरिस कम्युन, रुसी क्रान्ति र चिनियाँ सर्वहारा क्रान्तिलाई प्रस्थानविन्दु बनाउनुपर्छ।’

ऋषिराम काफ्लेले ठूलो पंक्ति वैचारिक रूपमा टाट पल्टिसकेको बताए।

उनले प्रश्न गरे, ‘सबै केन्द्रीय सदस्य बसेको टोल, गाउँमा पार्टी बन्छ कि बन्दैन? बनाउनु पर्दैन?’

श्याम श्रेष्ठले संगठनमा देखापरेको भद्रगोल चिर्नुपर्ने बताए।

‘कामको आधारमा मूल्यांकन विधि बनाऔँ,’ श्रेष्ठले बैठकमा राखेको धारणाबारे एक नेताले भने, ‘नेतृत्व केन्द्रीकरण हुँदा पार्टी एक ढंगले बन्यो, नहुँदा समस्याहरू हुन्छन्।’

कोही आक्रामक, कोही नरम
अध्यक्ष प्रचण्डसहित उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा सहितका नेताहरूको अगाडि केन्द्रीय सदस्यहरू आक्रामक रूपमा प्रस्तुत भएको बैठकमा रहेका नेताहरूले बताए। 

राधिका तामाङले पार्टीमा सबैको विकल्प खोजिएको बताइन्।

‘नेताको नजिक हुन कोसेली बोक्नुपर्छ रे। कसले चलन बसायो? कोसेली बोक्ने र आफन्त बाहेकको भविष्य छैन भन्ने सन्देश कसरी स्थापित भयो?’ उनले भनिन, ‘अध्यक्षको मात्र हैन, तपाईंहामी सबैको विकल्प खोजिएको छ। अब विधिको विकास गरौँ।’ 

केन्द्रीय सदस्य कल्पना धमलाले विधि र पद्धतिमा पार्टी नचलेको आरोप लगाइन्।

‘कमिटी कसरी भद्दा भयो? किन भयो? पार्टीका नेताहरूलाई निषेध गरेर, हुर्मत लिँदा पार्टी कमजोर भयो,’ धमलाले बैठकमा भनिन्, ‘नेतृत्व लिने र दिने विषय हैन। यसको जनवादी अभ्यास गरौँ।’

उनले पार्टी निर्माणका लागि सहरलाई जोड दिन र गाउँलाई ध्यान दिन नेतृत्वको ध्यानाकर्षण गराइन्। 

सांसद समेत रहेका केन्द्रीय सदस्य माधव सापकोटाले दलाल नोकरशाही पुँजीवादसँग सम्झौता नगर्दा सरकार ढालिएको भन्दै प्रचण्डको नेतृत्वलाई झन् बलियो बनाउनुपर्ने बताए।

‘मूल नेतृत्व ठीक छ। वर्गसंघर्ष मुख्य भएको बेलामा अन्तरसंघर्ष अगाडि आउने कुराले पार्टी कमजोर बनाउँछ,’ सापकोटाले भने, ‘पार्टी निर्माण सम्भव छ। मूल नेतृत्वको वरिपरि गोलबद्ध भएर हिँड्नुको विकल्प छैन। विद्यार्थीबाट विधि लागू गर्न सुरु गरौँ।’ 

अर्की सांसद मीना तामाङले पार्टीभित्रको छलफल बाहिर पुगेकोमा आपत्ति जनाइन्। उनले पार्टी अध्यक्ष भेट्न नपाएको गुनासो गरिन्। 

‘नियोजित भए छानबिन गरेर कारबाही गरौँ। होइन भने यो विषयलाई धेरै नतन्काऔँ,’ उनले भनिन्, ‘पार्टी निर्माण गर्न खुला र स्पष्ट हुनैपर्छ। छलछामले हुँदैन।’ 

तर, प्रदेश सांसद रहेकी उर्मिला लामा प्रचण्डको पक्षमा उभिइन्।

‘अध्यक्ष कमरेडकै नेतृत्वमा पार्टी एकढिक्का बनाउनुपर्छ,’ उनले भनिन्, ‘पार्टीभित्रको चरम गुट उपगुटलाई अन्त्य गर्न, जनवादी केन्द्रीयताको आधारमा संगठन व्यवस्थित गरौँ।’

पार्टी फुटको चिन्ता 
केही नेताहरूले पार्टी विभाजनको हल्लाले निराशा छाएको धारणा राखे। लक्ष्मी गुरुङले व्यक्तिगत धारणालाई अतिरञ्जित गर्न जरुरी नभएको बताइन्।

‘धकेल्ने र फुटको संघारमा लैजाने काम नगरौँ,’ गुरुङको भनाइ छ, ‘पैँचो मागेर अनिकाल टारेझैँ पार्टी चलाउने तरिका अन्त्य गरौँ।’

आगामी चुनावमा एक्लै लड्ने गरी मैदानमा जानुपर्ने उनको भनाइ छ।

ठाकुर ढकालले रूपमा क्रान्तिकारी सारमा दक्षिणपन्थी अवसरवाद देखापरेको टिप्पणी गरे।

‘आत्मकेन्द्रित व्यक्तिवादले हामीलाई गाँजेको छ। पार्टी निर्माणको लागि चीनमा माओत्सेतुङले सेकेन्ड लेयरलाई विश्वास गरे। त्यसरी नै प्रचण्डले चलाउनुपर्छ,’ उनले भनाइ थियो।

‘यो समय नेतृत्वको विकल्प खोज्ने हैन। बरु थप केन्द्रित गरेर लड्ने बेला हो,’ नेतृ कञ्चन खनालले भनिन्, ‘तपाईंहरूले नै सिकाएको हैन, लडाइँमा अन्तरसंघर्ष गौण हुन्छ भनेर! हामीबाट ममा पुग्यौँ तर हामीमै फर्कनुपर्छ। जनताले विश्वास गर्ने जीवनशैली बनाऔँ।’

सीता अधिकारीले पार्टी सक्किने कि सच्चिने भन्ने ठाउँमा पुगेको भन्दै संसदीय राजनीतिले पार्टीभित्रको एकतामा असर परेको बताइन्।

‘कर्पोरेट संस्कृतिको प्रभाव र उपभोक्तावादी संस्कृतिले गाँजेको छ,’ अधिकारीले भनिन्, ‘अब छरिएको माओवादी आन्दोलनलाई एकताबद्ध बनाउनुपर्छ।’

ईश्वरी भट्टराईले पार्टी बिग्रेकोमा माथिको नेता जिम्मेवार रहेको आरोप लगाए।

‘लेख्ने क्रान्तिकारी, बाटो दक्षिणपन्थी हुने हो कि भन्ने डर छ,’ उनले भने।

शंकर दुलालले पार्टी मेरिटोक्रेसीबाट अगाडि बढाउनुपर्ने प्रस्ताव राखे।

‘अटोक्रेसी र ब्युरोक्रेटिक हुने खतरालाई हेरेर डेमोक्र्याटिक मेरिटोक्रेसी लागू गराउनुपर्छ,’ उनले भने।

डा. बुद्धि नेपालीले सरकारलाई सफल बनाएकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई बधाई दिए।

‘राजकीय सत्ता कसले कतिपटक लाभ लिने हो विधि बनाऔँ,’ उनले प्रस्ताव राखे।

नवीन जिरेलले नेताहरूमा क्रान्तिकारी धार सकिएको बताए।

‘०६४ बाट ०७९ सम्मको निर्वाचनले त्यही संकेत गरेको छ। यो पार्टीमा पाउने पनि नपाउने जत्तिकै दुःखी देख्दैछु। भुइँको कुरा पार्टी र अध्यक्षले देख्नु भएको छ कि छैन?’ जिरेलले भने, ‘पार्टी निर्माण र नेतृत्व निर्माणको कुरा फरक हो। प्रचण्डको विकल्प प्रचण्ड आफैँ हो।’

अर्का केन्द्रीय सदस्य इन्द्रबहादुर थिङले भने, ‘पार्टी बिग्रियो भनेर हामीले भनेको हो अरुले हैन, त्यसैले बन्यो भनेर लागौँ। नेतृत्वको केन्द्रीकरण गरौँ।’
 
यस्तै, ईश्वरचन्द्र ज्ञवालीले माओवादी पार्टी संगठनमाथि फुकेको तल सुकेको अवस्थामा रहेकोले सुधार गर्नुपर्ने बताए।

‘गुटबन्दीले यो पार्टीलाई खायो। नेतृत्व परिवर्तन अहिले सान्दर्भिक छैन,’ ज्ञवालीले भने। 

यसैगरी केन्द्रीय सदस्य गंगा पराजुली एकएकवटा फेर तानेर झुण्डिरहेको भन्दै आपत्ति जनाइन्।

‘कित्ताकाट, गुटफुटबाट पार्टीलाई मुक्त राखौँ,’ उनले भनिन्। 

अर्की प्रदेश सांसद एवं केन्द्रीय सदस्य कुमारी मोक्तानले पनि पार्टीभित्रको आन्तरिक समस्या हल गर्नुपर्ने बताइन्।

‘पार्टी एकताबद्ध ढंगले अगाडि लैजानुपर्छ,’ मोक्तानले भनिन्, ‘अहिले नेतृत्वको विकल्प खोज्ने बेला होइन। एकताबद्ध ढंगले अगाडि पढ्ने बेला हो।’ 

अर्की नेतृ मानकुमारी पाख्रिनले बैठकदेखि बैठकसम्म भएर पार्टीले गन्तव्य पहिल्याउन नसकेको बताइन्।

‘अहिले हामीले गरिरहेको बहसले जनतालाई छुन्छ?’ पाख्रिनले भनिन्, ‘पहिला पार्टीको आयतन बढाउन लागौँ।’

यसैगरी प्रमिला लामा पुलामीले हैसियत अनुसार सबै नेता बिग्रिएको स्वीकार गर्नुपर्ने बताइन्।

‘नेतृत्व परिवर्तन हुन्छ तर त्यसको लागि नवौँ महाधिवेशन कुरौँ,’ पुलामीले भनिन्, ‘हामीले भुइँमान्छेको कुरा सुनेका छौँ? अन्त घुमेर आउनेलाई अवसर दिइएको छ, के हामी पनि त्यही गर्नुपर्ने?’ 

धनबहादुर महर्जनले पनि नेतृत्वको केन्द्रीकरण जरुरी रहेको बताए। राजकाजी महर्जनले पनि नेतृत्वको विकल्प खोज्ने बेला नभएको बताए।

तर, इन्दिरा अधिकारीले पदाधिकारीदेखि तलसम्म सांगाठनिक अराजकता रहेको भन्दै अन्त्य गर्न माग गरिन्।

‘स्वघोषित अभिमानको अन्त्य गर्नुपर्छ, छिटो–छिटो र पटकपटक सांगठनिक संरचनाको फेरबदल गर्न रोक्नुपर्छ,’ बैठकमा उनले भनिन्।

अमृता नेपालले पनि माओवादी नेताहरूको व्यवहारमा समस्या रहेको भन्दै स्वचालित रूपमा संगठन परिचालन नभएको बताइन्।

‘हाम्रो वर्गलाई छोड्यौँ। मध्यम वर्गले हामीलाई पत्याएन,’ उनले भनिन्, ‘अब ०८४ अघि सरकारमा नजाऔँ। नेतृत्वको केन्द्रीकरण गरेर एकजुट गराउनुपर्‍यो।’ 

इन्द्रप्रसाद गोतामेले पार्टीभित्र अवसर पाउने र नपाउनेबीच वर्ग बनेको गुनासो गरे। अर्का नेता प्रेमबहादुर पुलामीले पार्टीमा नजिक परेर धोका दिने धेरै भएकोले त्यसमा नझुक्किन प्रचण्डलाई सुझाव दिए।  

चितवनकी नेतृ निशा न्यौपानेले पदाधिकारी लगायत तलैसम्म कार्यसम्पादन सम्झौता गर्न माग गरिन्।

‘यो बेमौसमी अन्तर्विरोधले गद्धारी गरेको छ,’ न्यौपानेले भनिन्। 

माओवादी केन्द्र बागमती प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले अन्तरविरोध बाउ र छोराको झगडाजस्तो भएको टिप्पणी गरे।

‘सिम्प्याथीवाला कि इम्प्याथीवाला कम्युनिस्ट हौँ हामी? कार्य र कारणमध्ये हामीले कारण खोज्नुपर्ने हो तर हामी परिणाम खोज्नेतिर लागेका छौँ,’ सरलले भने, ‘५/५ वर्षमा महाधिवेशवन गर्ने भनौँ अनि ४ वर्ष पुगेपछि बहस खुला गरौँ।’

जनार्दनले भने : प्रचण्डबाहेकको माओवादी सोचेको छैन 
चार घण्टा केन्द्रीय तहका नेताहरूको कुरा सुनेपछि उपमहासचिव शर्माले जवाफ दिए।

उनले आफ्नो मत लिखित रूपमा राखेको प्रष्टीकरण दिए।

‘भिन्न मत हैनन्। लिखित मत आज मात्र हैन हिजो पनि आवश्यक परेको बेलामा दिने गरेको छु त,’ शर्माको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने,  अध्यक्षलाई विचार निर्माणमा लाग्नुपर्ने भनेको हुँ। अध्यक्षको भूमिकालाई नयाँ ढंगले परिभाषित गरौँ भनेको हो। त्यसो गर्दा संगठनको क्षेत्रमा अर्को नेतृत्व अघि सारौँ भनेको हो। जनवादको प्रयोगबाट दिने भए पनि दिऔँ भनेको हो। पार्टी बनाउने कुरा कसरी अन्यथा भयो? अध्यक्षबाहेकको माओवादी मैले पनि सोचेको छैन।’ 

प्रचण्डले भने : अध्यक्ष भइराख्न चाहन्नँ तर फ्याट्टै छाड्दिनँ
अध्यक्ष प्रचण्डले अहिले नेतृत्व नछोड्ने प्रष्ट पारे। 

‘अहिले फ्याट्टै छोड्ने भन्दा पनि एउटा सिस्टम विकास गरेर नेतृत्वको टिमको तैयारी गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘८५ जनाले बोल्दा एउटा राम्रो उर्जा प्राप्त भएको छ। यसले एउटा राम्रो दस्तावेजको आधार तैयार गर्‍यो।’ 

प्रचण्डले पार्टीलाई स्वचालित बनाउन जरुरी रहेको बताए। 

‘नेतृत्वको सवालमा साँच्चै भन्ने हो भने मलाई अब अध्यक्ष भइराख्नुपर्छ भन्ने लागेको पनि छैन,’ उनले भने, ‘किनकि अध्यक्षभन्दा प्रचण्ड माथि भइसक्यो। विश्वव्यापी रूपमा भइसक्यो भन्दा हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .